स्थानीय कला, संस्कृति प्रदर्शन गरिने

|

पाल्पा : तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासेमा श्रीनगर सांस्कृतिक डबली निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो।

६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा लगानीमा डबली बनेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गीता आचार्यले बताइन्। उनका अनुसार २०७६ साल असार ८ मा सम्झौता भएको थियो।

सम्झौताको समयभित्रै निर्माण सम्पन्न भएको हो। निर्माणको ठेक्का प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। 

यहाँ कम्तिमा एक हजार दर्शकले एकैपटक प्रदर्शनी हेर्ने क्षमताको डबली निर्माण गरिएको छ। डबलीमा स्टेज, दर्शक कक्ष, शौचालय, गार्ड हाउस, टिकट काउण्टर, कार्यालय, पार्किङसहितको सुविधा रहेको उनले बताइन्। 

तानसेन नगरपालिकालाई हस्तान्तरण

प्रदेश सरकारले उक्त डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच नगरप्रमुख सन्तोषलाल श्रेष्ठलाई डबलीको साँचो हस्तान्तरण गरे। निर्माण सकिएको करिब डेढ वर्षपछि नगरपालिकालाई डबली हस्तान्तरण गरिएको हो।

पाल्पाको पर्यटन विकासमा यसले टेवा पुग्ने मुख्यमन्त्री चौधरीले बताए। ‘यो जिल्ला एउटा इतिहास बोकेको जिल्ला हो। यहाँका ऐतिहासिक ठाउँ, कला, संस्कृतिको प्रचारप्रसार गर्न सके पर्यटक आउँछन्। यहाँका स्थानीय उत्पादन ब्राण्डिङ गरेर मार्केटिङ गर्न सके जिल्लाको आर्थिक उन्नतिमा थप सहयोग पुग्छ‚’ उनले भने।

उनले सबै जना त्यसै बस्न नहुने बताए। ‘यहाँको भाषा, कला, संस्कृतिलाई डबलीमा प्रस्तुत गर्ने र उत्पादित खानेकुरालाई ब्राण्डिङ गर्नुपर्छ। पर्यटक रमाउँछन्‚’ उनले भने‚ ‘यहाँको आम्दानीले स्थानीय कलाकारलाई रोजगार सिर्जना गर्छ।’ डबलीलाई व्यवस्थित बनाएर सञ्चालन गर्न उनले नगरपालिकालाई सुझाए। 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले भैरहवामा आएका पर्यटकलाई तानसेनले तान्न सक्नेगरी डबलीको उपयोग गर्न आग्रह गरे। संविधानसभा सदस्य नारायणी शर्मा घिमिरेले सबै क्षेत्र र निकायको समन्वयले विकास संभव रहेको बताइन्।

लुम्बिनी प्रदेशसभाका सांसद वीरबहादुर राना र खेमबहादुर सारुले पाल्पाको तानसेनलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने बताए।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको व्यवस्थापन र संचालनमा इमानदार भएर काम गर्ने बताए। यहाँको कला संस्कृति चिनाउने र आर्थिक आम्दानी हुनेगरी योजना बनाएर डबली सञ्चालन हुने उनले बताए।

जिल्लाको लोक कला तथा संस्कृति जगेर्ना र प्रवर्द्धन गरी समग्र जिल्लामा पर्यटन प्रवर्द्धनलगायतका माध्यमबाट आर्थिक सबलीकरण गर्ने गरी डबली सञ्चालन गरिने उपप्रमुख प्रतीक्षा सिंजालीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.