अनुगमनमा ५० नगरप्रहरी परिचालन

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आज (बुधबार)देखि सुर्तीजन्य पदार्थको बिक्री-वितरण र सेवनमा रोक लगाएको छ। महानगरपालिकाले सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि हानिकारक भएको भन्दै बिक्री-वितरण र सेवनमा रोक लगाएको हो।

महानगरपालिकाका अनुसार सुर्ती सेवनका निमित्त बनाइएका कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गरिएको छ। सार्वजनिकस्थलको एक सय मिटर वरिपरी बेच्न र सेवन गर्नमा महानगरले रोक लगाएको छ। बेच्न लाइसेन्स लिएकाले पनि नियम मिच्न पाउने छैनन्।

सूर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी बुधबार राखिएको पत्रकार भेटघाट कार्यक्रममा महानगरका प्रवक्ता नवीन मानन्धरले बेच्न नपाइने जानकारी दिए। उनले भने, ‘लाइसेन्स नै लिएको भए तापनि कानुन अनुसार बेच्न पाउने छैनन्, यस्तो गरेको पाइए कारबाही हुन्छ।’ उनले प्लाष्टिकमा प्याकेजिङ गरिएको, बट्टाको, खुला वा अन्य सामग्रीमा प्याकेजिङ गरिएका सबै सुर्तीजन्य पदार्थमा रोक लगाइएको बताए।

उनका अनुसार शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्टल स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका सार्वजनिक स्थलको एक सय मिटर वरिपरी बिक्री-वितरण र सेवन गर्न पाइने छैन।

‘काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तीजन्य पदार्थ (निरूपण र नियमन) ऐन २०६८ को दफा ११ बमोजिम रोक लगाइएको हो, जनस्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय  असर न्युनिकरण गर्ने  उद्देश्य हाम्रो हो,’उनले भने।  

प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोरमैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको उनको भनाइ छ। ‘सुर्तीजन्य पदार्थ सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेकाले पनि प्रतिबन्ध लगाएका हौँ,’ उनले भने।

यस्तो छ नियन्त्रण गर्ने योजना

महानगरपालिकाले भोलिदेखि नै अनुगमनका लागि टोली परिचालन गर्दै छ। महानगरपालिकाका प्रवक्ता मानन्धरका अनुसार काठमाडौँ महानगरका ४ क्षेत्रमा १०/१० जनाका दरले नगरप्रहरी परिचालन गरी अनुगमन गरिने छ।

पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोशाकमा समेत टोली खटीने उनले बताए। ‘पछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारी पारिचालन गरिने छ, सुर्तीजन्य पदार्थ भएको गोदाम, पसल, होटल सबैमा छापा मारिने छ,’ उनले भने।

बिक्री-वितरण गरे पसल बन्द गरिने

महानगरपालिकाका प्रवक्ता मानन्धरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने तथा तेस्रो पटक पाइएमा पसल बन्द गर्ने बताए। महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूले समेत सुर्तीजन्य पदार्थ सेवन नगर्ने प्रतिबद्धता जानकारी गराएको छ।

पत्रकारहरूले जनप्रतिनिधि तथा कर्मचारीहरूले सुर्तीजन्य पदार्थ खान्छन् कि खाँदैनन् ? भनेर प्रश्न सोधेका थिए। महानगरका प्रवक्ता मानन्धरले कर्मचारीहरूले पनि खान बन्द गर्ने बताए। 

‘सबैले धुमपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रूपैयाँसम्म जरिवाना गरिने छ, ’उनले भने। यसका लागि महानगरपालिकाले १५ दिनअघि नै सूचना जारी गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.