|

सर्लाही : सर्लाहीका उखु किसानले आज (शनिबार) दिउँसो हरिवनमा उखुको (बोट) लाक्रा सहित विरोध प्रदर्शन गरेका छन्।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर नारबाजीसहित जुलुस निकालेका हुन्।

हरिवन बजारबाट सुरु भएको जुलुस ईन्दुशंकर चिनी उद्योग परिसर पुगेर पुनः हरिवन बजारमै आई विरोधसभा गर्दै करिब आधा घण्टा पूर्वपश्चिम् महेन्द्र राजमार्ग अवरोध गर्दै गरेका छन्।

किसानलाई गुमराहामा राखेर यो सरकार उद्योगपतिको चाकडीमा लागेको कारण किसानले दुःख पाइरहेका छन्। यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतको आधारमा न्यूनतम मूल्य ७५० रुपैयाँ कायम गर्नुपर्ने आफूहरुको माग रहेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए।

किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपैयाँमध्ये अहिलेसम्म २१ रुपैयाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन्।

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन्। मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन्। 

चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महनसंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाइ छ।

मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरे पनि अस्वीकार गरिएको  उप्रेतीले जानकारी दिए।

गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.