news

|

जनकपुरधाम : भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरू जनकपुरधामको ऐतिहासिक गंगासागर पुगी बिहेको बेदी बनाउनका लागि माटो ल्याएका छन्।

महिलाहरूले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए। मटकोरका क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो।

जानकीको प्रतीकको रूपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए। वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ।

जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो।

आइतबार स्वयंवर तथा विवाहोत्सव र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.