|

काठमाडौँ : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले काठमाडौँस्थित भन्सार विभाग घेराउ गरेको छ।

आइतवार आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो। सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिशन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने उनीहरूको माग छ।

विरोध कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य बिल्टुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग पूरा गर्न बाध्य बनाएरै छोड्ने बताए। उनले तीन दिनमा सरकारले माग पूरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने र आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिए।

साहले भने, ‘आज हामीले यहाँ घेराउ गरेका छौँ। शान्तिपूर्ण हिसाबले आग्रह गरेका छौँ। माग पूरा गर्न बाध्य बनाउनेछौँ। आमजनताले ४५ प्रतिशत पाउने व्यवस्था सरकारले गरेको छ तर त्यो ४५ प्रतिशत भन्सारको व्यवस्था जनताले नपाई भन्सारका हाकिमको निर्देशनमा चलेको छ। त्यो कि त आम जनताले पाउनुपर्छ होइन भने ४५ प्रतिशत जनताका लागि गरेको व्यवस्था खारेज गर्नुपर्छ। तीन दिनमा सरकारले माग पूरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्न अघि बढ्नेछौँ।’

त्यसैगरी पार्टीकी केन्द्रीय सदस्य रञ्जुकुमारी साहले राज्यले नियमकानून बनाएर आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी गर्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रिएको बताइन्।

उनले भनिन्, ‘राज्यले नियमकानून बनाएर भन्सारमा जुन आमनागरिकले ४५ प्रतिशत छुट पाउने भनेको छ। त्यो कर्मचारीले पाइरहेका छन्, जनताले पाएका छैनन्। सरकारले भन्सार छली नियन्त्रण गर्नुपर्छ।’

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थानुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ। अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ। आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.