|

पर्सा : बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित ४  सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ५ सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्।

आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसी सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन्।

कोरिडोरमा सञ्चालित १२ उद्योगमध्ये ४ वटा बन्द भएका छन्। बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए। 

उनले बैंकहरुको बढ्दो ब्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको हो। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योगहरु बन्द भएका अधयक्ष अग्रवालले बताए।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन १ हजार कर लिँदै आएको छ। यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ। 

नेपाली सिमेन्ट उद्योगले वर्षौंदेखि माग गर्दै आएको भारतीय गुणस्तर चिह्न बीआईएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.