|

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा अन्नबाट निर्मित रामजानकी प्रतिमाको विश्व रेकर्ड चार दिनभित्रै पाइने बताएका छन्।

अध्यक्ष महासेठले सामाजिक सञ्जालमा आइरहेका विभिन्न किसिमको प्रतिक्रियाको जवाफ दिँदै तीनचार दिनभित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने बताए।

विश्व रेकर्ड कायम हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष महासेठले प्रतिमा निर्माणको लक्ष्य पूरा हुने बताए।

अध्यक्ष महासेठले भने‚ ‘जनकपुरधामले यसपालि फरक किसिमले आत्मीयता देखायो‚ फरक किसिमले आफ्नो इतिहास‚ स्वाभिमान र परिचय विश्वमा फैलायो। हामी केवल उहाँहरूका साथमा कदम नडगमगाई अघि बढ्यौं र रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुनुहोस्।’

अध्यक्ष महासेठले यसबाट कुण्ठित भएका केही व्यक्तिले सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रसार गर्नुलाई अन्यथा नलिएको बताउँदै काम गरेको हरेक चीज जनताको बीचमा पत्रकार सम्मेलन गरी जानकारी गराउने  प्रतिबद्धता समेत गरे।

महासेठले प्रयोग गरिएको अन्नको संरक्षण गर्ने दायित्व सरोकारवालाले नै लिएको र यसमा साथ सहयोग गर्ने सम्पूर्ण दाताको नामावली‚ रकम र अन्नको यकिन परिमाण‚ त्यहाँ चढाइएको जिन्सी लगायत सबैको फेहरिस्त सबै सार्वजनिक गरिने बताए।

अध्यक्ष महासेठले जनकपुरधामको परिचयमा नयाँ अध्याय थपिएकोमा यस अभियानमा साथ दिने सम्पूर्ण नगरवासीका साथै सम्पूर्ण निकायलाई धन्यवाद समेत दिए।​

विवाहपञ्चमीको अवसर पारी जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानमा अन्नबाट ११ हजार ११ वर्गफिटमा भगवान् सीतारामको प्रतिमा निर्माण गरिएको  थियो।​

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समिति बनाएर करिब कुल २५ लाखको लागतमा १०२ क्विन्टल अन्नबाट प्रतिमा निर्माण गरिएको थियो।

यसअघि भारतको अयोध्यामा १० हजार ८ सय वर्ग फिटमा यस्तै प्रतिमा निर्माण गरिएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ।

भारतको मध्यप्रदेशका सतीश गुर्जर सहित ८ जनाको समूहले प्रतिमा निर्माण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.