|

विराटनगर : आफ्नो थातथलो छाडेर विराटनगर बसोबास गर्दै आइरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन्।

मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलवार उधौली मनाएका हुन्।

विराटनगर-११ साकेला थानमा किरात राई यायोख्खाले साकेला नाच र विराटनगर-१५ किरात याक्थुङ चुम्लुङले च्याब्रुङ नाच्दै उधौली पर्व धुमधामका साथ मनाएका हुन्। उनीहरुले साकेला थानमा पूजा आराधना गरी आपसमा शुभकामना आदानप्रदान समेत गरेका छन्। 

हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशीयालीमा मनाउने गरिन्छ। उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्छ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङनाम पर्वका नाममा मनाउँछन्।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ। भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातिय भेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्।

पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परागत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ। विराटनगर-१५ मा चेयर प्रतियोगिता आयोजना गरियो।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ।

तस्वीरः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.