|

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छन्। आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए। उनले भने, 'जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना सङ्घीयताले दिएको हो।'

सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ। उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए।

 कार्यक्रममा गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताइन्। उनले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने विश्वास व्‍यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.