|

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए। उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे।

सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो।

हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको  तर्कसमेत गरे। अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफल अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वाससमेत व्यक्त गरे।

‘अहिले हाम्रो अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ‚ शेयर मार्केट पनि बढेको छ‚ जग्गाको कारोबार पनि बढेको छ,’ अर्थमन्त्री महतले भने, ‘राजश्व पनि विस्तारै बढ्न थालेको छ। आर्थिक गतिविधि बढ्न थालेको छ। अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ। त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिब हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ।’

सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.