|

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ। पुस १२ गते सुरु भएको बैठक आज सकिएको र निर्णय आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले राष्ट्रियसभामा विगतमा योगदान पुर्याएका तर अबसर नपाएकाहरुलाई प्राथमितकता दिने निर्णय गरेको जनाइएको छ । उनीहरुलाई भूगोल, क्षेत्र र समुदायलाई पनि समेटेर उम्मेदवार बनाउने भन्ने निर्णय भएको पौडेलले बताए।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार घर बनाउने निर्णय गरेकोमा उक्त घर निर्माणमा सहयोग गर्ने आम कांग्रेसका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ।

सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनतालाई सुशासन प्रत्याभूती हुने खालका सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ ।

शनिबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे लगायतले धारणा राखेका थिए । 

त्यस्तै केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा, जीवनबहादुर शाही, पुष्पा भुसाल, शंकर भण्डारी, मिनाक्षी झा, गोविन्द भट्टराई, प्रदीप पौडेल, रमेश लेखक, आरजु राणा देउवालगायतले धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.