|

सल्यान : नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक हो, कुपिण्डे ताल। धार्मिक तथा पर्यटकीय गन्तव्य भए पनि उचित व्यवस्थापन र संरक्षणको अभावमा कुपिण्डे ताल वर्षेनि पुरिँदै गएको छ। ताल वरपरको फोहरले कुपिण्डेको सौन्दर्य हराउँदै जान थालेको छ।

अहिले ताल जाने बाटो, मन्दिर वरपरको क्षेत्र, ताल किनार र त्यस आसपासको क्षेत्र फोहरले भरिएको छ।

ताल वरपर फोहरका थुप्रा बढ्दै गएको स्थानीय रामबहादुर रानाले बताए। कुपिण्डेमा वनभोज खान आएकाले बढी मात्रामा फोहर गर्ने गरेको उनको भनाइ छ। खसी कुखुरा ल्याउने र यही क्षेत्रमा वध गर्ने, खानेकुरा पकाउँदाको फोहर स्थानीयले राखेका खाजा पसलको फोहर पनि यत्रतत्र फालिने गरेको उनले बताए।

रानाले भने, ‘बियरका बोतल, पानीका बोतल, चाउचाउ, बिस्कुट लगायतका प्लाष्टिकदेखि बच्चाले प्रयोग गरेका डाइपरसम्म यत्रतत्र छन्, यसले तालको सौन्दर्य बिग्रिएको छ।’

स्थानीय हुन् वा घुम्न आएका, उनीहरूले खाना, खाजा खाएर फालेका प्लाष्टिक, बोतल लगायतको फोहरको उचित व्यवस्थापन नहुँदा ताल वरपरको क्षेत्र दुर्गन्धित बनेको अर्का स्थानीय ओमनाथ कुँवरले बताए। विगतमा ताल संरक्षण समिति थियो तर करिब २ वर्षदेखि ताल संरक्षण समिति नहुँदा फोहर व्यवस्थापन नै मुख्य समस्या भएको उनको भनाइ छ।

ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल वर्षेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माणका कारण ढुंगामाटो बगेर आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो। मन्दिरको छेउसम्म पानी हुने गरेको ताल अहिले पूर्व, दक्षिण भागबाट पुरिँदै गएको छ। तालको करिब २०० मिटरभन्दा बढी पुरिएको छ।

पूर्वदक्षिण भागको ठाडो खोलामा गल्छी निर्माण गर्न सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि बेवास्ता गरिएको स्थानीयको भनाइ छ। खलंगा–सल्लीबजार सडक निर्माणका क्रममा बगेको माटो र ढुंगाले ताललाई धेरै क्षति पु¥याएको छ। यसैगरी ताल भएर आगरनेटा लगायतका बस्तीमा जाने सडकका कारण पनि ताल जोखिममा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.