|

काठमाडौं : बाल्यकाल दिल्लीमा बित्यो। शहरका ठूला ठूला पर्दा र घरको टेलिभिजनमा सुनिल क्षेत्रीले पहिलोपटक माइकल ज्याक्सनका ‘हुक स्टेप’ देखे। ज्याक्सनको डान्समा मोहित उनलाई लाग्थ्यो, ‘कोही कसरी यस्तो नाच्न सक्छ?’  ज्याक्सनको डान्स स्टेपसँगै उठ्नु र हिँड्नु र निदाउनु दैनन्दिन थियो।

ज्याक्सनको डान्सलाई आफ्नो दिल र दिमागमा बोकेर हिँडेका क्षेत्रीलाई लागेको थिएन कुनै दिन म कोरियोग्राफर वा नृत्य निर्देशक बन्छु।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको अभिनय र नृत्य हेरेर हुर्किएका सुनिल अचेल नेपाली कलाकारलाई नाच्न सिकाउँछन्। उनी अहिलेका व्यस्त कोरियोग्राफरमध्ये एक हुन्।

दिल्ली, कारखाना र स्टिलको ध्वनी

गरिबी नेपाली समाजको साझा समस्या थियो। क्षेत्री परिवार पनि यसमा अछुतो थिएन। आर्थिक सम्पन्नताको आशले बुबाले घर छाडे, दिल्ली लागे।  एक स्टिल कारखानामा काम पाए। बुबाले केही समयमा नै सुनिलकी आमालाई पनि उतै राख्ने बन्दोबस्त गरे। बुबा दिनभर काममा व्यस्त रहन्थे। दिन बिते। महिना बिते। दिल्लीमै क्षेत्री परिवारमा उनले जन्म लिए।

उनका बुबाले काम गर्ने कारखानाबाट स्टिल पिटेको ट्वाङट्वाङ आवाज निरन्तर निस्किरहन्थ्यो। कतिपयलाई यो ध्वनी कर्कस लाग्थ्यो। तर, त्यही ध्वनि सुनीलका लागि लोरी थियो। भनिन्छ नी एउटै बाटो पनि कतिका लागि उकालो लाग्छ, कतिपयका लागि ओरालो। किन लाग्छ त? किनभने उ कहाँ छ भन्ने मुख्य कुरा हो।

स्टिलको आवाज उनका लागि मीठो संगीत बन्यो। सायद शिशु अवस्थाका सुनिलले पहिलो पटक त्यही संगीतको तालमा आफ्ना हातखुट्टा चलाएका थिए।

दिल्लीमा लामो समय बसेपछि उनको परिवार नेपाल फर्क्यो। दिल्लीसँग थोरै बहुत चिनचान बटुलेका सुनिलले अब नेपालगञ्जसँग आत्मीयता साट्नुपर्ने थियो। नेपालगञ्जसँग मितेरी गाँस्नुपर्ने थियो।

परिवारको आर्थिक पृष्ठभूमिले मजबुतीको आधार तय गरिसकेको थिएन। यसकारण नेपालगञ्जबसाइँ पनि त्यति सहज हुनेवाला भने थिएन। गरिबी र अभावसँग जुझ्नु थियो। रिक्सा चलाउने, साइकल बनाउनु, थारु समुदायमा हुने विभिन्न नाचगानमा सहभागी हुनु सुनिलको दैनिकी बन्यो।

कतिपयले यसलाई संघर्षको उपमा पनि दिन सक्छन्। यद्यपि सुनिल आफूले हालसम्म कुनै खालको संघर्ष नगरेको तर्क राख्छन्। उनको बुझाइ छ, ‘संघर्ष भन्ने कुरा नै हुँदैन। आफूले हात पारेको उपलब्धिलाई बढाइचढाइ गरी सुनाउन मान्छेले संघर्षको कथा जोड्ने गर्छ।‘

विद्यार्थीको काम पढ्ने हो। विद्यार्थीले गृहकार्य गर्नुलाई संघर्ष मान्न थाल्यो भने के हुन्छ? यस्तै आफ्नो दैनिकीलाई संघर्ष भनेर बखान गर्नु गलत ठान्छन् उनी।

नृत्यतर्फ बचपनबाट नै झुकाव थियो। आफ्नो रहरको अंश बोकेर हिँडिरहे उनी। रहरको बाटो हिँड्दा बिस्तारै पढाइको बाटो लामो बन्यो। कक्षा १० को परीक्षामा अनुत्तीर्ण भएपछि त उनले पढाइको चटक्कै माया मारेर कलाकारितालाई नै अँगाल्ने प्रण गरे। कहिलेकाहीँ आफ्नो शैक्षिक पाटो कमजोर भएको हो कि भन्ने कुराले पनि पिरोल्छ। तर जब आफूले कलाकारिता क्षेत्रबाट कमाएका मान्छेहरू, आफ्नो काम मन पराउने मान्छे देख्दा पढाइ पूरा गर्न नसकेकोप्रति खासै पश्चाताप पनि लागि हाल्दैन उनलाई।

‘जिन्दगीमा औपचारिक शिक्षाभन्दा ठूलो कुरा ज्ञान रहेछ। पढेर पनि आफूसँग ज्ञान वा सीप छैन भने त्यो पढाइको खासै महत्त्व नहुने रहेछ’, उनको निचोड छ।

नेपालगञ्जदेखि एपिएफसम्म सांस्कृतिक विभागसम्म

उमेर र नृत्यप्रति झुकावले उचाई लिँदै गयो। आफ्ना सपना नेपालगञ्जमा मात्र सिमित राख् चाहेनन्। एकदिन काठमाडौंका लागि नाइट बस चढे।

काठमाडौंमा जीवन सहज बनाउन आर्थिक उपार्जन गर्नुपर्थ्यो। यसका लागि उनले उनले रेष्टुरेन्ट तथा बारमा नाच्ने काम गरे। पछि महेन्द्र पुलिस क्लबमा रहेकी सानिमाको सहयोगमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए। उनी सुनाउँछन्, ‘त्यहाँ रहँदा साँस्कृतिक विभाग हेर्ने गर्थे।‘

डान्स इन्डिया डान्समा प्रतिस्पर्धी, सारुखानसँग स्क्रिन सेयर

सन् २०१३ मा आयोजित डान्स इन्डिया डान्स (डीआईडी)को चौथो संस्करणमा भाग लिने रहर लाग्यो उनलाई। मान्छेले सबै कुरा पाउनैपर्छ भन्ने छैन। केही पाउन केही गुमाउनुपर्छ। एपीएफको जागिर छाडे उनले।  डीआईडीमा समेत उनले सबैको मन जितिरहेका थिए। निर्णायक मण्डलमा बसेका बलिउड अभिनेता मिथुन चक्रवर्ती लगायत सबैले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका थिए। तर रिहर्सल गर्ने क्रममा चोट लाग्यो। प्रतिस्पर्धाबाट बाहिरिए।

उनी सुनाउँछन्, ‘उपाधि जित्ने रहरलाई थाती राख्दै म बाहिरिएँ। हरेक मान्छे आफ्नो भागमा त्यति मात्र पाउँछ। जति उसलाई पाउन लेखेको छ।’

चोट निको भएपछि उनी विभिन्न स्टेज कार्यक्रमहरूमा सहभागी हुन थाले। उता निर्देशक तथा कोरियोग्राफर फराह खानको नजरमा थिए उनी। एकदिन एक फिल्मको गीतका लागि मुम्बई बोलाइयो उनलाई।

‘यो मेरो जीवनको खुसीको क्षण हो। किनभने म साहरुख खानसँग स्क्रिन सेयर गर्न मुम्बइ जाँदै थिएँ’, उनी सुनाउँछन्। सन् २०१४ मा रिजिल भएको बलिउड फिल्म ह्याप्पी न्यू इयरमा उनले सुपरस्टार शाहरुख खानसँगै स्क्रिन पनि सेयर गरे। त्यसरी भारतीय फिल्मी उद्योगलाई नजिकबाट नियाल्ने अद्भूत मौका पनि उनलाई मिल्यो। मान्छेले आफ्नो कामलाई कती महत्वपूर्ण ठान्छ भन्ने कुरा सारुखानबाट नियाल्न पाएको बताउँछन् उनी।

भारतीय फिल्म उद्योगसँग नेपालको तुलना गर्नेहरू पनि छन्। नेपाली फिल्म उद्योगको आकार निकै सानो भए पनि  क्षमताका आधारमा भने नेपाली उद्योग पनि कम नरहेको उनी बताउँछन्।

‘भारतमा निर्माताहरू एउटा फिल्म बनाउन करोडौँ करोड रुपैयाँ खर्च गर्छन्। नेपालमा एउटा फिल्मले मुस्किलले २–३ करोडको लगानी पाउँछ’, उनी भन्छन्, ‘भारतमा एउटा म्युजिक भिडियोमा १०–१५ लाखको लगानी हुन्छ। नेपालमा न्यूनतम खर्चमा काम सक्नुपर्छ। तर, सकारात्मक कुरा के भने हामीले थोरै खर्चमा पनि राम्रो सृजना निकाल्ने प्रयास गरिरहेका छौँ।’

सुनिलले पहिलो पटक पाँच वर्षअघि ‘चुम्बक’ बोलको गीतमा कोरियोग्राफी गरेका थिए। त्यसयता उनले ३ सय बढी म्युजिक भिडियोमा कोरियोग्राफरको भूमिका निभाइसकेका छन्। सुनिलले चौका दाउ, बोके झार र नन्दनीलगायत हिट गीतमा कोरियोग्राफी गरेका छन्। 

लोकगीतमा पनि ‘प्रयोग’

लामो समयमा स्टेज कार्यक्रममा रमाइरहेका सुनिलले म्युजिक भिडियोको दुनियाँमा निकै ढिलो मात्रै प्रवेश गरे। उनी नृत्यमा पनि प्रयोग गर्न रुचाउँछन्। केही समयअघि मात्रै सार्वजनिक भएको ‘सरर भागौँला’ बोलको गीतको म्युजिक भिडियोमा उनले जोम्बीको प्रयोग गरेका थिए। भिडियोले मिश्रित प्रतिक्रिया पाएको थियो।

कलाको कुनै जात धर्म हुँदैन। नृत्यमा पनि फरक फरक तरिकाले प्रयोग गरिरहेका छन् उनले। लोकगीतलाई पुरानै ढर्रामा चल्न दिनुपर्छ भन्ने सिद्धान्तलाई उनी मान्दैनन्। नेपाली लोकगीतमा समयानुकूल परिवर्तन ल्याउन म्युजिक भिडियोमा ‘वेस्टर्न फ्लेबर’ मिसाउने गरेको उनी सुनाउँछन्।

यहाँ (लोकगीतमा) आधुनिक बाजाको प्रयोग पनि भइरहेको छ। कोरियोग्राफीमा पनि आधुनिकता ल्याउनुलाई नराम्रो भन्न अलिक मिल्दैन’, उनी भन्छन्। यद्यपि टिपिकल स्वाद खोजिने लोकगीतका लागि भने आफूले लोकनृत्य नै रोज्ने गरेको उनले सुनाए।

दिल्ली हुँदै नेपालगञ्ज, नेपालगञ्ज हुँदै काठमाडौं। एपिएफ हुँदै डिआइडीको मञ्च र सारुखानसँग स्क्रिन सेयर गर्दै नेपाली सांगीतिक क्षेत्रमा निर्देशक तथा कलाकार बनेका सुनिलले के आफू सफल भएको ठान्छन्? गफगाफको बिट मार्ने क्रममा पङ्क्तिकारले ध्यो।

‘मैले देखेको सपना र पाएको उपलब्धिबाट असन्तुष्टि छैन। सायद यसैलाई सफलताको मानक मान्ने हो भने दु:ख मनाउ गर्ने ठाउँ छैन’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.