बोर्ड अध्यक्ष भन्छन्- एसइई हुन्छ, ढुक्क हुनुस्

|

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष सञ्चालन हुन्छ वा खारेज हुन्छ भन्नेबारे अन्योल सिर्जना भएको छ। सरकारले एसइई परीक्षाबारे यकिन निर्णय लिन नसक्दा एसइई तयारीमा रहेका करिब ४ लाख विद्यार्थी, अभिभावक र शिक्षक चिन्तित छन्। 

यस विषयमा सांसदहरूले पनि प्रश्न उठाएका छन्। हिजो (मंगलवार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माण सम्बन्धमा छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य सुमना श्रेष्ठले एसइईबारे के गर्ने सोच बनाउनु भएको छ भन्दै सरकारलाई प्रश्न गरेकी थिइन्।

यस्तै नेकपा कम्युनिष्ट पार्टी एमालेकी सांसद एवं समितिकी सदस्य विद्या भट्टराईले पनि यस विषयमा प्रश्न उठाएकी थिइन्। उनले प्रश्न गरिन्, ‘एसइई हुनसक्छ भनिएको छ, एक प्रकारको डर छ, त्यो डर जनमानसमा पुर्‍याएका छौँ, हाम्रो व्यवहार कहिले सुध्रिने हो?’

उक्त प्रश्नपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले भने, ‘विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन छ, त्यसकारण त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही होला तर अहिलेलाई पहिलाजस्तै एसइई परीक्षा हुन्छ।’

उनको यो भनाइले पनि अन्योल थपिएको छ। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० पास भएमा यस विषयमा थप निर्णय हुनेछ। यतिखेर उक्त विधेयक शिक्षा समितिमा छलफल भइरहेको छ। अहिले प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजीको प्रस्ताव गरिएको छ। 

माघभित्र हिउँदे अधिवेशन बोलाएर सबै ऐन पारित गर्ने योजनामा सरकार जुटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छिटो नै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

गत मंगलवार प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी तर ७ वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक मैले संसदमा पेस गरेँ, त्यसका कमीकमजोरी सच्याई छिट्टै पारित गर्न म प्रतिबद्ध छु।’ 

पुसदेखि चैतसम्म ४ महिना हिउँदे अधिवेशनको समय मानिन्छ। यता, राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष चैत पहिलो हप्ता एसइई परीक्षा हुने भनी कार्यतालिका सार्वजनिक गरिसकेको छ।

माघ पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक हुने बोर्डले जनाएको छ। त्यसो त माघ महिनामै ऐन पारित भएमा शिक्षा विधेयकमै खारेजीको प्रस्ताव गरिएकाले संशोधन नपरे एसइई परीक्षा खारेज हुने देखिन्छ।

लामो समयदेखि सिंहदरबारभित्रै यता र उता घुम्दैफिर्दै अड्किएको उक्त शिक्षा विधेयक गत असोज २५ गते संसदबाट पारित भइ दफावार छलफलका लागि सम्बन्धित समितिमा पेस भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेकी सांसद एवं समितिकी सदस्य ईश्वरी घर्तीका अनुसार अहिले उक्त शिक्षा विधेयकमाथि छलफल भइरहेको छ।

संसदमा प्रतिवेदन बुझाउन अझै समय लाग्ने देखिएको उनले बताइन्। ‘अहिले उक्त शिक्षा विधेयकबारे सरोकारवालाहरूसँग बसेर छलफल भइरहेको छ,’ उनले भनिन्, ‘अझै विधेयकमा दर्ता भएको संशोधनमाथि दफावार छलफल भएकै छैन, अझै समय लाग्ला।’

आज नेपाल शिक्षक महासंघ र समितिबीच विधेयकबारे छलफल भएको छ। प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विभिन्न पार्टीका सांसदहरूबाट शिक्षा विधेयकमा १६० संशोधन दर्ता भएका छन्।

एसइई परीक्षाबारे संशोधन दर्ता भएको छ वा छैन भन्ने प्रश्नमा सांसद घर्तीले भनिन्, ‘धेरै संशोधन दर्ता भएका छन्, अब खारेज हुनुहुँदैन भनेर दर्ता भएको पनि हुनसक्छ, नहुन पनि सक्छ, त्यो त दफावार छलफल सुरू भएपछि मात्रै थाहा हुन्छ भन्न पनि सक्छौँ।’

बोर्ड अध्यक्ष भन्छन्- एसइई हुन्छ, ढुक्क हुनुस्

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले भने यस वर्षको एसइई परीक्षा नरोकिने बताएका छन्। उनले ढुक्क भएर परीक्षाको तयारी गर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे। 

उनले भने, ‘एसइई परीक्षा हुन्छ, कोही अन्योलमा नपर्नु, ढुक्क भए हुन्छ।’ उनले शिक्षा विधेयकलाई लिएर अन्योल सिर्जना नभएको र शिक्षा मन्त्रालयलाई पनि त्यस्तो जानकारी नदिन आग्रह गरे। 

‘विद्यार्थीहरुले फाराम भरिसकेका छन्, परीक्षा नजिकिँदैछ, कुनै हालतमा परीक्षा रोकिदैँन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.