बढ्दो छ ग्राफ

|

काठमाडौँ : वैदेशिक रोजगारीमा लगिदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गर्ने ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामा मंगलबार पक्राउ परे।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको बहानामा विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका उनलाई शङ्खमूलबाट पक्राउ गरेको थियो।

लामा काठमाडौँको महाराजगञ्जमा सी-स्टार ट्रेनिङ सेन्टर सञ्चालन गर्र्‍थे। उनको लिथुआनिया, क्यानडा, सिंगापुरलगायत देशमा आकर्षक पारिश्रमिकको प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग रकम असुल्ने धन्दा  थियो। उनले व्यक्तिसँग पाँच लाखदेखि १५ लाखसम्म असुलेका थिए। प्रहरीले उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानीसमेत बरामद गरेको छ।

यस्तै, आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराइदिने गिरोहको विश्वासमा पर्दा सुर्खेतका अमरबहादुर खड्काले झण्डै एक करोड डुबाए। 

छोरालाई जेलबाट घर लैजान पाइने लोभमा भोजपुर घर भई काठमाडौँको नागार्जुन बस्ने २६ वर्षीया रीतु राई र बर्दिया घर भइ सोही ठाउँ बस्ने निरेश चौधरीको भनाइ पत्याउँदा उनले झण्डै करोड गुमाएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सुर्खेतका रेवन्त खड्का काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार गएका थिए। 

उनै रेवन्तको मुद्दा मिलाइ जेलबाट छुटाइदिने लोभ देखाएर बुबा अमरबहादुरबाट उनीहरूले पटक-पटक गरी ९९ लाख ७५ हजार लिएको पाइएको सिआइबीले जनाएको छ। 

गत मंसिर २७ गते नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई  प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। 

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्ति ११ जना थिए।

यी ठगीका केही उदाहरण मात्र हुन्। यस्ता ठगीका घटना दैनिक घटिरहेको छ। पछिल्लो पाँच वर्षमा ठगी तथा अपराधिक विश्वासघातबाट नेपाली समाज आक्रान्त बनिरहेको छ।
 
प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुवेर कडायत पछिल्लो वर्ष ठगीका घटना बढेको बताउँछन् । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी बढी देखिएको बताए । 

दैनिक तीनवटा ठगीका घटना

हरेक दिन प्रहरी कार्यालयहरूमा ठगीमा घटना दर्ता हुने क्रम रोकिएको छैन। पछिल्ला वर्षहरूमा ठगीका घटना बढ्दै गएका छन्। 

प्रहरीबाट प्राप्त तथ्यांक हेर्दा दिनमा कम्तीमा तीनवटा ठगीका उजुरी दर्ता हुने गरेको देखिएको छ। यो वर्षमात्र १ हजार १०५ वटा उजुरी दर्ता भएका छन्। यो संख्या ७८/७९ को भन्दा ३६६ ले बढी हो।

गत वर्ष ७३९ वटा उजुरी दर्ता भएका थिए। आव २०७७/७८  मा ठगीका ६०७, आव २०७६/७७ मा  ६६८ र आव २०७५/७६ मा  ६७२ जाहेरी दर्ता भएका छन्।

काठमाडौँमा बढी ठगी, कर्णालीमा न्यून

ठगीका घटना सबैभन्दा बढी काठमाडौँ उपत्यकामा देखिएको छ। उपत्यकामा यो वर्ष ४५६ वटा ठगीका घटना  भए।

केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूमा क्रमश :  २६ र ४३० वटा उजुरी दर्ता भएका छन्। सबैभन्दा कम ठगीका घटना कर्णाली प्रदेशमा दर्ता भएका छन्। उक्त प्रदेशमा जम्मा १४ वटा घटना भएको छ।

कुन प्रदेशमा कति ठगी?

काठमाडौँ उपत्यकालाई छाड्ने हो भने ठगीका सबैभन्दा बढी घटना यो वर्ष मधेश प्रदेशमा दर्ता भएका छन्। उक्त प्रदेशमा २०२ घटना दर्ता भएका छन्। 

यस्तै, कोशी प्रदेशमा १७५, लुम्बिनीमा ११३,  बागमतीमा ६८, गण्डकीमा ४४, सुदूरपश्चिममा ३३  र कर्णाली प्रदेशमा १४ घटना दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.