|

काठमाडौं : चिसो निकै बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको अहिलेसम्मकै कम ३.५ डिग्री सेल्सियससम्म तल झरेको थियो। चिसोका सामान्य तथा जटिल प्रकारका स्वास्थ्य समस्याले सताउँछ।

चिसो मौसममा देखिने धेरै स्वास्थ्य जटिलता मध्ये एक हो, मुटुसम्बन्धी समस्या। त्यसैले अन्य मौसममा भन्दा चिसोमा मुटुसम्बन्धी सामान्यदेखि जटिलसम्मका समस्या लिएर नियमित तथा आकस्मिक समयमा अस्पताल पुग्ने बिरामी धेरै हुन्छन्।

चिसो मौसममा यसकारण बढ्छ मुटुसम्बन्धी समस्या

मुटु मात्रै होइन गर्मीभन्दा जाडो मौसममा स्वास्थ्यसम्बन्धी अन्य धेरै समस्या देखिन्छ। यस्तै अनुरूप मुटुको समस्या पनि गर्मीमा भन्दा धेरै यही मौसममा देखिन्छ। हाम्रोमा मात्रै होइन विश्वमा नै गर्मीभन्दा जाडो मौसममा मुटुसम्बन्धी सामान्यदेखि जटिल खालका समस्या लिएर अस्पताल जाने धेरै हुन्छन्।

यसको मुख्य कारण भनेकै अनुसार चिसोको कारण शरिरको रक्तनली साँघुरिँदा रक्तप्रवाहमा समस्या हुन्छ जसले गर्दा मुटुमा समस्या देखिन थाल्छ।

अन्य बेलाको तुलनामा चिसो मौसममा हाम्रो हर्मोनको स्तर बढ्छ। यसले शरीरलाई चिसोबाट जोगाउने तथा छालालाई खुम्च्याउँछ, जसलाई ‘क्याटोकल एमोन’ भनिन्छ।'यस्ता हर्मोनमा  शरीरलाई जोगाउने भए पनि रगतको बाक्लोपना,रगत जमाउने तत्त्व बढी हुन्छ।  चिल्लो पदार्थ बढ्नु रगतको नली साँघुरो हुने गर्दा रक्तप्रवाहमा समस्या भई मानिसमा हृदयघातदेखि पक्षघातसम्मको समस्या निम्तिन्छ।

गर्मीभन्दा चिसो मौसममा नै हुन्छ हृदयाघातको जोखिम पनि

यति मात्रै होइन गर्मी भन्दा चिसो मौसममा नै हुन्छ हृदयाघातको जोखिम पनि धेरै हुन्छ। त्यसको पहिलो कारण भनेको अघि मैले भने जस्तै क्याटोकल एमोन हर्मोन हो । यो हर्मोनमा  शरिरलाई जोगाउने भए पनि रगतको बाक्लोपना,रगत जमाउने तत्त्व बढी हुन्छ चिल्लो पदार्थ बढ्दा रगतको नलि साँघुरो बनाउछ अनि हृदयाघात हुने हो।

अझै बुझ्नु पर्ने कुरा के छ भने अक्सर हाम्रो शरीरमा हुने हर्मोन रातिको २ बजे देखि (बिहानीपख) बढी एक्टिभ हुन्छन। त्यसैअनुसार क्याटोकल एमोन हर्मोन बिहानको समयमा धेरै एक्टिभ हुन्छ। फलस्वरूप यसले हाम्रो शरिरको चिल्लो पदार्थ बढ्छ।  रगतनली साँघुरो बनाउँछ। अनि हृदयाघात हुन्छ। धेरै मानिसलाई बिहानको समयमा हृदयाघात हुने मुख्य कारण पनि यही हो।

हृदयाघातको जोखिम  बढ्ने दोस्रो कारण  भनेको कम शारीरिक व्यायाम हो। चिसोकै कारण यो समयमा शारीरिक व्यायाम कम गर्ने धेरैको बानी हुन्छ। यसले गर्दा  मुटुको स्वास्थ्यको लागि उच्च जोखिम मानिएको  कोलेस्ट्रोरोल मधुमेह तथा उच्चचाप जस्ता समस्या पनि बढ्छ र मानिसमा आकस्मिक  हृदयाघातसहित  पक्षघात जस्ता समस्या यो मौसममा बढ्छ।

अर्को महत्त्वपूर्ण कारण भनेको धूमपान तथा मद्यपान हो। मानिसहरुले धूमपान तथा मद्यपान पनि धेरै गरेको पाइन्छ। यसले गर्दा  मुटुको स्वास्थ्यको लागि उच्च जोखिम मानिएको कोलेस्ट्रोरोल मधुमेह तथा उच्चरक्तचाप जस्ता समस्या पनि बढ्छ। यसैकारण मानिसमा आकस्मिक हृदयाघात र  पक्षघात जस्ता समस्या देखिन्छ।

यस्ता मानिस हुन्छन् जोखिममा

पहिलेदेखि नै मुटुसम्बन्धी विभिन्न  खालका समस्या भएकाहरू, मधुमेह, उच्चरक्तचाप  तथा उच्च कोलेस्ट्रोरोलका समस्या भएका बिरामी जुनसुकै मौसममा  हृदयघात तथा अन्य प्रकारका मुटुसम्बन्धी समस्याको जोखिममा हुन्छन्। यस्ता समस्या हुनेका लागि चिसो मौसममा ‘भ्याजुस्पाजम’ अर्थात् मुटुका रक्तनली एक्कासी बन्द हुने समस्या हुन्छ। यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चार अवरोध हुन्छ र हृदयाघातको जोखिम बढाउँछ।

त्यसैले हामीले यस्ता बिरामीलाई यस मौसममा विशेष सावधानी अपनाउन सुझाव पनि दिन्छौँ। विशेषगरी यो मौसममा खानामा धेरै रुचि हुन्छ, यसले शरीरमा मोटोपना र आलस्य बढाउँदै लैजान्छ। धेरै खाना खाने अल्कोहल बढी लिने, धूमपान गर्नाले तथा व्यायम नगर्ने गर्नाले बोसोलगायत अन्य कारणले रक्तनली खुम्चिने र हृदयाघातको जोखिम बढाउने तत्त्व सक्रिय हुने हुन्। 

कस्ता लक्षण देखिए सावधान रहने     

मुटु रोग यस्तो समस्या हो जुन समयमानै चिकित्सक/ स्वास्थ्य संस्थामा गए सफल उपचार गरेर बिरामी सामान्य अवस्थामा फर्किन सक्छ। त्यसैले मुटुको समस्या देखिदा देखिने लक्षणसँग सबै सचेत रहनु पर्छ। विशेषगरी छाती दुख्ने, ढक्क फूलेजस्तो वा भारी हुने, मुटु ढुकढुक हुने, शरीर र गोडा सुन्निने, धेरै थकान महशुस हुने, श्वास फेर्न अप्ठ्यारो हुने र हातगोडा झमझमाउनेलगायत लक्षण देखिने सचेत भएर नजिकको स्वास्थ्य संस्थामा जानु पर्छ।

यस्तै उकालो हिँड्दा, भर्‍याङ चढ्दा स्वाँस्वाँ हुने, श्वास फेर्न असजिलो हुने, चिसो मौसममा पनि पसिना बढी आउने, निमोनियाको लक्षण जस्तै छातीको बीच भागमा दुख्ने, शरीर आलस्य हुने, बान्ता आउने, खाना मन नलाग्ने भयो भने हृदयाघातको लक्षण हो। यस्तो लक्षण देखिएमा सकेसम्म छिटै चिकित्सकलाई देखाउनु पर्छ।  

यस्तै, चिसोको मौसममा धेरै छाती गह्रौँ भएर आयो र बारम्बार हातखुट्टा झम्झमायो भने सतर्क रहनु पर्छ।

यस्ता समस्या हुन नदिन के गर्ने?

हृदयाघात एक्कासी देखापर्ने समस्या हो। अन्य मौसममा भन्दा चिसो मौसममा हृदयाघातको सम्भावना धेरै हुन्छ। तर अधिकांश मानिसले लक्षण नै थाहा नपाउने हुँदा धेरैले हृदयघातको कारण यो मौसममा धेरैको ज्यान  गएको हुन्छ।

सकेसम्म बिहान घरबाहिर ननिस्कने। चिसो हावा लागेको बेला खुला स्थानमा ननिस्कने। धूमपान नगर्ने। चुरोट तान्दा धुवाँसँगै चिसो हावा पनि भित्र जाने हुँदा यसले सोझै मुटुमा असर गर्नसक्छ। त्यसले हृदयाघातको जोखिम बढ्छ।

बिहानै उठेर खाली पेटमा चिसो पानी पनि नखाने। मनतातो पानी खाने। कार्बोहाइड्रेट भएको खानेकुरा कम खाने। सकेसम्म चिसो पानीले पनि ननुहाएको राम्रो हुन्छ किनभने चिसोले गर्दा हाम्रो रक्तसञ्चारलाई असहज बनाउँछ। त्यसको प्रत्यक्ष असर मुटुमा परिरहेको हुन्छ। 

यस्तै त्यसैले कार्बोहाइड्रेड भएको खाना कम खानुपर्छ।  जाडोमा धेरै खाना रुच्ने हुन्छ। बढी खानाले  मोटोपन बढ्छ, सँगसँगै हृदयाघातको जोखिम पनि।

माछामासु कम खाने। फलफूल, हरियो तरकारी र हरियोपरियो धेरै खानुपर्छ।  शरीरलाई न्यानो राख्ने, आफू बस्ने कोठालाई न्यानो राख्ने र एक्कासी धेरै चिसोमा ननिस्कने विषयमा ध्यान दिनु पर्छ।

नियमित व्यायाम गरेको राम्रो हुन्छ। चिसोमा  ‘मर्डिङ वाक’ गर्नु भन्दा घर भित्रै गर्न मिल्ने शारीरिक व्यायाम गर्नु पर्छ।

धेरै बोसो भएको र रातो मासु कम खाने साथै मधुमेह, उच्च रक्तचाप र मोटोपन भएका मानिसमा मुटुरोगको जोखिम उच्च हुने भएकाले ती मानिसले नियमित रूपमा चिकित्सकसँग परामर्श  लिनु पर्छ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग गरिएको कुराकानीमा आधारित।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.