|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज (शुक्रवार) शुरु भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालगायत माओवादीबाट कर्णाली सरकारमा रहेका कुनै पनि मन्त्री सहभागी भएनन्।

प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए। उक्त कार्यक्रममा कांग्रेसबाट कर्णाली सरकारमा रहेका मन्त्री भने सहभागी भएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेल, नेपाली कांग्रेसबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री खड्क पोखरेल, आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह र उद्योग, पर्यटन‚ वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी उदघाटन सत्रमा सहभागी भएका थिए।

देशभरिकै खेलाडीहरु सुर्खेतमा जम्मा भइरहेको समयमा कर्णालीका सरकारका मुख्यमन्त्री शर्मासँगै माओवादीबाट सरकारमा सहभागी कुनै पनि मन्त्री उपस्थित नहुँदा राजनीतिक वृत्तमा अनौठो रुपमा लिइएको छ।

सरकारमा रहेका माओवादीका मुख्यमन्त्री तथा मन्त्री कार्यक्रममा नआएपछि उपप्रधानमन्त्री खड्कालाई भने कतै माओवादीले आफू सहभागी कार्यक्रम बहिष्कार गरेका हुन् कि भन्ने परेको कांग्रेसको बुझाइ छ। 

मुख्यमन्त्री शर्मा राजधानी काठमाडौँमा छन् भने आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी कार्यक्रम सञ्चालन भइरहेको समयमा काठमाडौँबाट सुर्खेत आइपुगेका थिए।

भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाही सुर्खेतमै थिए भने भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा वीरेन्द्रनगरमै आयोजित च्याउ खेतीसम्बन्धी एक कार्यक्रममा सहभागी थिए। ऊर्जामन्त्री उर्मिला विश्वकर्मा पनि सुर्खेतमै रहेकी भए पनि उनी कार्यक्रममा उपस्थित भइनन्।

बहुप्रतीक्षित प्रतियोगितामा माओवादीका तर्फबाट सरकारमा रहनुभएका तपाईंहरुमध्ये कोही पनि सहभागी नहुनुको अर्थ बहिष्कार गर्नु भएको हो भन्ने  प्रश्नमा सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री जिसीले भने, ‘हामीले सबै मन्त्रीहरु एकै कार्यक्रममा नजाने भन्ने आचारसंहिता बनाएका छौँ, सोहीअनुसार विभागीय मन्त्रीज्यू कार्यक्रममा सहभागी हुनु भएको हो। सरकार भनेको सरकार नै हो, त्यहाँ माओवादी र काँग्रेस भन्ने नै हुँदैन।’

उनले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सरकार निरन्तर लागिपरेको बताउँदै माओवादीनिकट मन्त्रीहरु सहभागी नभएको वा बहिष्कार गरेको भन्ने अर्थमा बुझ्नु गलत हुने तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.