|

विराटनगर : पाँच महिनादेखि रिक्त रहेको कोशी प्रदेशसभाले आज (मंगलबार) सभामुख पाउने निश्चित भएको छ। राजनीतिक उतारचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्यकालमा तीनजना सभामुख पाउने भएको छ।

प्रदेशसभा गठन भएपछि अघिल्लो कार्यकालमा प्रदीपकुमार भण्डारी सभामुख थिए भने दोस्रो प्रदेशसभाको एक वर्षको अन्तरालमा दुईजना सभामुख भए। मुख्यमन्त्री उद्धव थापाको सरकारलाई समर्थन दिन माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमले साउन १६ गते राजीनामा दिए।

गौतमको राजीनामासँगै रित्तो रहेको सभामुख पदका लागि लामो रस्साकस्सीपछि कोशी प्रदशसभामा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख हुने भएका हुन्। सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार हुन लागेका विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेपछि निर्विरोध हुने भएका हुन्।

को हुन् विष्ट ?

 २०२८ सालमा अखिलको विद्यार्थी राजनीतिबाट शुरु गरेका उनी २०३२ सालदेखि पञ्चायतमा प्रवेश गरेका थिए।

समाजमा सुधार गर्नुपर्छ भन्ने उद्देश्यसहित पञ्चायती राजनीतिमा प्रवेश गरेका उनी वाम राजनीतिले गरेको व्यक्ति हिंसाको धार मन नपरेर राजनीतिक धार परिवर्तन गरेको सुनाए। वामपन्थी राजनीतिबाट अलगिएर फरक धारको राजनीतिक यात्रा तय गरेका उनी राप्रपाको स्थापनाकालदेखि नै राजनीतिमा सक्रियरुपमा रहेको राप्रपाका प्रदेशसभा सदस्य सविना बजगाई बताउँछिन्।

त्यसो त उनको राजनीतिक जीवनयात्रा साधारण सदस्यमा मात्रै सीमित भने रहेन उनी झापा जिल्लाको सचिव हुँदै जिल्ला अध्यक्षको पदमा रहेर समेत कार्याभार सम्हालिसकेका छन्। उनको राजनीतिक जीवनको विगतका कालखण्डमा फर्किएर हेर्ने हो भने २०३३ सालमा जुरोपानीको उपप्रधानपञ्च पनि भएका रहेछन्।

२०४६ पछि राप्रपामा आबद्ध उनी काँग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवाको पालामा सहकारी विकासको झापा अध्यक्ष समेत भएर कार्यभार सम्हालेको उनले बताए।

प्रदेशसभाको बैठकमा प्रदेशको कुनै काम नभएको र प्रदेश खारेजीको माग राख्दै आफ्नो धारणा रोष्टममा खरो ढंगले राख्ने उनी अहिले प्रदेसशसभाको प्रमुख जिम्मेवारी पदमा पुगेका छन्। यो यात्रासँगै प्रदेश खारेजीको तपाईंको माग कसरी सम्बोधन गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले संविधानको परिधिभित्र हुने भएकाले र सभामुख भएसँगै पार्टीबाट अलग हुने भएकाले यो एजेण्डा अनुरूपको काम पार्टीले गर्ने धारणा राखे।

 उनले भने, ‘मैले गर्ने काम म गर्छु। संविधान बमोजिम गर्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.