|

सर्लाही : सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। आउँदै गरेको माघे संक्रान्तिलाई लक्षित गरी जील्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याई भएको हो। तर, यसवर्ष तरुलको उचित मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन्।

जिल्लाको बागमती र बरहथवा नगरपालिका लगाएतका स्थानमा यतिबेला किसानहरु माघे संक्रातीमा अत्यधिक खपत हुने भएकाले तरुल खन्न भ्याईनभ्याई रहेको किसानहरुको भनाइ छ।

विगत लामो समय देखी बर्सेनि व्‍यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपालिका–५ राजघाटका शंकर मैनालीले माघे संक्रान्तिमा बिक्री गर्दा तरुलले राम्रो भाउ पाउने आशा गरेअनुसार यस वर्ष गएको वर्षको मूल्यमा प्रतिकिलो प्रतिकिलो १० रुपियाँ कमीमा बेच्न बाध्य भएका छन्। गत वर्ष ५० देखि ५५ रुपैयाँसम्म प्रति किलोमा बिक्री गरेको तरुल यसबर्ष ३५देखि ४० रुपैयामा बिक्री भएको उनको भनाइ छ।

किसानहरुले उत्पादन गरेको तरुल लिन ठेकेदारहरु खेतबारीमै पुगेका छन्। लामो समयदेखि तरुल खेती गर्दै आएका बागमती–१० मोहन लुम्रे मगरले यस वर्ष ८ कठ्ठा जमिनमा तरुल खेती गरेका छन्।

उनले व्यापारीलाई प्रति कठ्ठा १० हजारमा खेतबाटै बेचेका छन्। गत वर्ष उनले १ लाख २५ हजारमा बेचेका थिए। यसवर्ष भने लागत अनुसारको खासै आम्दानी नभएको गनासो गरे।

माघे संक्रान्तिमा विषेश फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग गर्न लैजाने गरेको किसानहरु बताउँछन्।

तरुल खेती गर्दा जमिन हेरेर बिउ, खन, जोत, खाद मल र गोडमेल समेत गरेर ७ देखी १० हजारप्रति कठ्ठा लगानी हुने किसानहरुको भनाई छ भने यस सिजनमाप्रति कठ्ठा २० देखी २५ हजार सम्म आम्दानी हुने किसानहरुले अपेक्षा गरे पनि उचित मूल्य पाएन।

राम्रो उत्पादन हुँदा तरुल प्रति कठ्ठा ८ देखि १० क्विन्टल सम्म उत्पादन हुने गरेको छ। यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको किसानहरुले बताएका छन्। यस वर्ष कम वर्षात भएका कारण तरुल उत्पादनमा कमी आएको किसानहरुले बताए। किसानका अनुसार यस बर्ष सरदर प्रति कठ्ठा ४ देखि ५ क्विन्टल उत्पादन भएको बताउँछन्।

यहाँ उत्पादन भएको तरुल काठमाण्डौं,पोखरा, नारायणगढ, धनगढी, नेपालगंजलगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने ब्यापारी हृदय राम बताउँछन्। उनका अनुसार उत्पादनमा कमी र विगतका वर्षहरुमा जस्तो माग कम भएकोले किसानले तरुलको उचित मुल्य नपाएको बताए।

सर्लाहीमा मात्र यस बर्ष २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र मलंगवाका प्रमुख देवानन्द रायले जानकारी दिए। सर्लाहीमा प्रत्येक बर्ष ५सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.