|

पर्वत : पोखरा थिएटरको गन्धर्व नाटक घरमा नाटक ‘१२ दुर्वासा’ मञ्चन सुरु भएको छ।

अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन्। परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका छन्।

अभिनय गर्नेहरूमा रमेश बाबु तिमल्सिना, अनुसा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अन्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्वकर्मा र रोहित पौडेल छन्।

‘प्रिमियम सो’ हेर्न पुगेका दर्शकले लामो समयपछि खुला सो मार्फत मञ्चन भएको यो नाटक राम्रो लागेको भन्दै नाटकको टिमले गरेको कामको प्रशंसा गर। यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटक घरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको छ। यस्तो स्टेजको प्रयोग गन्धर्व नाटक घरमा पहिलो भएकोले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन्।

‘टुबेल एङ्ग्री म्यान’ को नेपाली रूपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित रहेको छ। यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ। उनीहरूको विचारमा देखिने विविधता र संघर्ष  नै नाटकको विषयवस्तु हो। यसलाई प्रभावकारी बनाउन कलाकारले निकै मेहनत गरेका छन्।

सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रूपमा रेग्नाल्डले यो नाटक लेखेका थिए। पछि सन् १९५७ मा फिल्म निर्माण भयो। त्यसपछि यो विश्वव्यापी रूपमा झनै चर्चित बन्यो। विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन्।

आगामी माघ १३ गतेसम्म मञ्चन हुने यो नाटकले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समाजको चित्रण गर्ने भएकोले नाटक प्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ। लगातार विद्यार्थी केन्द्रित नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको नाटकका निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।  यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका हुन्।

करिब एक घण्टा ४० मिनेट लामो नाटक बुधवार बाहेक हरेक दिन साँझ पौने पाँच बजे तथा शनिवार र आइतबार अतिरिक्त ‘सो’ को रूपमा दिउँसो एक बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.