|

विराटनगर : केही वर्षअगाडिसम्म उनी सरकारी जागिर खाने सुरमा थिइन्।

कृषि प्राविधिक अध्ययन सकेकी उनी कैयौँलाई तालिम दिन प्रशिक्षकका रुपमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म पुगिन्। 

यही विषयमा विज्ञता हासिल गरेर सरकारी जागिरे बन्ने सपनाको दौडमा होमिएकी उनको सामु परिस्थिति फेरिएसँगै गन्तव्य पनि अन्यत्रै मोडियो। त्यसपछि उनले धागोका सपना बुन्न थालिन्।

इलाममा जन्मेकी मिक्कल लिम्बूले अहिले विराटनगरलाई कर्मघर बनाएकी छिन्। ढाकाको सारी आफैँमा एउटा ब्राण्ड भएकाले यसको व्यवसाय विराटनगर बसेर विस्तार गर्ने सोचसमेत रहेको उनी सुनाउँछिन्।

साथीले तान बुनेको देखेर आफूलाई पनि त्यहीँबाट सिक्ने इच्छा जागेको र पछि दमकमा ऋण खोजेर भाडामा बसेर केही समय तालिम लिएको उनले सुनाइन्।

‘खासमा त मलाई सरकारी जागिर खान थियो तर परिस्थितिसँगै बाटोहरु पनि मोडिने रहेछ,’ उनले सुनाइन्, ‘अहिले तान लगाएकी छु, घरैमा बसेर ढाकाको सारी बुन्छु। मैले तालिम त लिएको होइन साथीले बुनेको देखेर सिकेकी हुँ।’

घरको कामधन्दा सकेर तानमा बस्नु र सारी बुन्नु उनको नियमित दैनिकी जस्तै बनेको छ। तानमा लगातार समय दिने हो भने एउटा सारी १५ दिनमा बुनिसक्ने तर समय दिन नसक्दा महिना दिनसम्म लाग्ने गरेको उनी सुनाउँछिन्।

घर परिवारलाई दिएर बचेको समय तानलाई दिने गरेको बताउने उनी एउटा सारी तयार गर्नमा मेहनत पनि उत्तिकै लगाउनुपर्ने बताउँछिन्।

तानमा टाँगेको हरेक धागोको रेसा र बुट्टासँग खेल्न सक्दा मात्रै एउटा धागोले सुन्दर बुट्टाको आकार पाउने अनि त्यसका लागि आँखा र मष्तिस्कलाई एउटै लयमा बगाउन सकेमात्र त्यसले एउटा सुन्दर स्वरुप पाउने उनी बताउँछिन्।

घरैमा तान लगाएर बुनेको सारी कोशी प्रदेशका विभिन्न जिल्लामा मागअनुसार बिक्री गर्ने गरेकी छिन्। यो व्यवसायमा फाइदा भए पनि यसको गुणस्तर र मेहनत नबुझ्नेले नाक खुम्च्याउने गरेको उनले गुनासो सुनाइन्।

‘यसमा मेहनत धेरै पर्छ, बस्दा ढाड दुख्छ, तान लगाएपछि धागोको रेसा-रेसामा आफ्नो दिमाग पनि दौडाउनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘मेहनत बुझ्नेले केही नभनि किन्नु हुन्छ, नबुझ्नेले नाक खुम्च्याउदै महँगो भयो भन्नु हुन्छ।’ 

बुटिकमा होस् वा कुनै सपिङ मलमा राखिएको सामान्य सारीलाई महँगो दाममा किन्न ग्राहकले मौलिक तरिकाले हातले बुनेको सारीको मूल्य सुन्दा नै तर्सिने गरेको उनी सुनाउँछिन्।

सारीको मोल ३ हजारदेखि २५ हजारसम्म

बजारमा ३ हजारदेखि २५ हजार रुपैयाँसम्म ढाकाको सारी पाइने गरेको उनले बताइन्।

सुतीको धागोबाट बुनेको सारी ३ हजारदेखि ४५ सय रुपैयाँसम्म पाइने र सिल्कको धागोबाट बुनेको सारी १० हजारदेखि  २५ हजार रुपैयाँसम्म पर्ने गरेको उनको भनाइ छ। 

‘सुतीको धागोबाट बुनेको सारी ३ हजारदेखि ४५ सयसम्म पर्छ तर सिल्कको धागोबाट बनेको महँगो पर्छ सिल्कको धागोमा मेहनत धेरै पर्छ‚’ उनले भनिन्‚ ‘त्यसो त बजारमा २५ हजार रुपैयाँसम्मको सारी पाइन्छ। त्यसको पनि धागोको क्वालिटी र मेहनतअनुसार सारीको दाम पर्छ।’

व्यवसाय विस्तार गर्ने ध्याउन्न

हरेक व्यवसायको शुरुवात संघर्षपूर्ण नै हुन्छ। अहिले संघर्षको यात्रामा रहेकी मिक्कल आफ्नो सिप विश्व बजारसम्म पुर्‍याउने कसरतमा छिन्। त्यसका लागि आर्थिक व्यवस्थापनको पाटो महत्वपूर्ण रहने हुँदा अहिले घरबाट नै सञ्चालन गर्दै आएको व्यवसाय विस्तार गर्ने सोचमा रहेको उनी सुनाउँछिन्।

‘अहिले घरैमा तान लगाएर सारी बुन्दै बिक्री गर्दै गरेकी छु, यसलाई विस्तारै विस्तार गर्ने सोचमा छु,’ उनी सुनाउँछिन्, ‘एउटा सटरमा बसेर व्यवसाय सञ्चालन गर्न लाखौँ खर्चिनुपर्ने हुन्छ त्यसैले पहिले त आर्थिक व्यवस्थापन नै चुनौतीको विषय हो।’

समयसँगै व्यवसाय अगाडि बढाउन परिवारबाट पनि दर्बिलो साथ चाहिने बताउने उनले यसबाट महिलालाई आत्मनिर्भर बनाउनसमेत टेवा पुग्ने बताइन्।

लिम्बू मुन्धुमसँग जोडिएको ‘ढाका’

लिम्बू जातिको मुन्धुममै ढाकाको महत्व दर्शाइएको छ। सबै प्राणी र पंक्षीको रौँ र प्वाँख हुने तर मान्छेको किन भएन भनेर सबैको प्वाँख (रौँ) पैँचो मागेर तागेरानिङ्वाभुमाङ(लिम्बू भाषामा भगवान) कोमा पुगेको र माङ (भगवान) ले तिमीहरुले आफैँ बनाएर लुगा लगाउनू भनेको रहेछ।

लिम्बू मुन्धुमको मिथकअनुसार सबै प्वाँख फिर्ता लगेपछि लज्जा छेक्ने ठाँउ छेकेर मान्छेले लुगा बनाएर लगाएको रहेछ। मुन्धुमअनुसार थाकथाक्मा भनेको कपडा बुन्नु हो त्यही कालान्तरमा ढाका बनेको रहेछ। 

पहिलो राणा प्रधानमन्त्री जंगबहादुरकी बहिनीले ढाकाबाट ल्याएर पाल्पामा खाँडी बुने तापनि लिम्बूहरुले पहिलेदेखि नै थाकथाक्मा अर्थात कपडा बुन्ने गरेको र त्यो नै पछि ढाकासँगै गाभिएको जानकारहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.