तीन वर्षमा ५८ हजार दुर्घटना, ६ हजार बढीको मृत्यु

|

काठमाडौं : पछिल्लो दुई दिनमा मात्र देशभर सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाए। शुक्रबार राति  दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा १२ जनाको मृत्यु भयो।  शनिबार काठमाडौंको  चन्द्रागिरि नगरपालिका-४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भयो।  यस्तै,  झापामा मोटरसाइकल दुर्घटनामा शनिबार दुई जनाको ज्यान गएको छ। पर्सा, रौतहट, बर्दियामा पनि सवारी दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो।

यसरी दुई दिनमा देशभर २४ जनाले ज्यान गुमाउनुले देशको सडक एकदमै जोखिमपूर्ण अवस्थामा रहेको देखाउँछ। एकातिर सडकमा दुर्घटनामा ठूलो मानवीय क्षति हेर्दा सरकारले सडक सुरक्षासम्बन्धी गम्भीर हुनुपर्ने बेला आएको देखाउँछ।  

भयावह तथ्यांक

यो वर्षको मंसिरसम्म मात्र देशभर सानाठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता दानबहादुर कार्की बताउँछन्।  जसमा ९ सय १६ जनाले ज्यान गुमाएका छन् भने २ हजार ७ सय ९१ जना गम्भीर घाइते भएको कार्कीले थाहाखबरलाई जानकारी दिए।

दुर्घटनामा ११ हजार ९१ जना साधारण घाइते भएका छन्। सबैभन्दा बढी काठमाडौं उपत्यकामा दुर्घटनाका घटना भएका छन्। यो वर्ष मात्र ४ हजार ७ सय ५२ वटा घटना उपत्यकामा भएका छन्। जसमा ६६ जनाले ज्यान गुमाएका छन्।  

उपत्यकामा सवारीसाधन दुर्घटनाको अवस्था

कोशी प्रदेशमा १ हजार ३ सय ९६ घटनामा १६२ जनाले ज्यान गुमाएका छन् भने  मधेश प्रदेशमा २ हजार ७ सय ६० दुर्घटनामा २ सय १२ जनाले ज्यान गुमाएका छन्। यस्तै,  बागमती प्रदेशमा ५ सय ८४ वटा दुर्घटना भएका छन् जसमा १ सय २४ जनाले ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशमा १ सय ६२ दुर्घटना हुँदा ६८ जना,  लुम्बिनी प्रदेशमा ५ सय १ दुर्घटनामा १ सय ६६ जना, कर्णाली प्रदेशमा ४ सय २० दुर्घटनामा ४५ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ३० दुर्घटनामा ७३ जनाले अकालमा ज्यान गुमाएका हुन्।

तीन वर्षमा ५८ हजार दुर्घटना, ६ हजारभन्दा बढीको मृत्यु

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार दैनिक ५४ वटा दुर्घटना हुन्छन् भने दैनिक ६ जनाको मृत्यु हुने गरेको छ। १४ जना गम्भीर घाइते हुने गरेका छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना भएका छन् भने यी दुर्घटनामा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन्। यो तीन वर्षमा सवारी दुर्घटनामा १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

अस्वस्थ प्रतिस्पर्धाले लिँदै छ ज्यान : सडकविज्ञ गजुरेल

सडक दुर्घटनाको मुख्य कारण नै असुरक्षित सडक हुन्। यद्यपि, आज हामीले देशका सडक हेर्ने हो भने धेरै नै स्तरोन्नति भएको देखेका छौँ। राम्रा सडक निर्माण भएका छन्। सडकको अवस्था हेर्दा सुधारको अवस्था देखिएको छ। तर, यो पर्याप्त छैन।  सवारी साधनको अस्वस्थ प्रतिस्पर्धा, बिनाट्रायल नै सवारी चालक अनुमतिपत्र वितरण, अनुशासनको कमी नै आजको हाम्रो मुख्य समस्या हो।

सरकारले सवारी चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुन्छ भन्दैमा सरकार उम्किन नपाउने यातायात तथा शहरी पूर्वाधार विज्ञ आशिष गजुरेल बताउँछन्। उनले हाम्रा सडकहरू वैज्ञानिक तवरले निर्माण भएका नभएको बताउँछन्। स्तरीय सडक निर्माण हुने हो भने केही हदसम्म सडक दुर्घटना घट्ने उनले बताए।

‘सवारी चालकको मानसिक अवस्थाबारे हामीले सोचिरहेका छैनौँ। नियमअनुसार सवारीलाई वर्षमा चारपटक चेकजाँच गर्नुपर्ने भन्ने छ। तर, हामीकहाँ यस्तो केही पाउँदैनौँ। सवारी चेकजाँचलाई एकदमै कडाइ गर्न जरुरी छ। सवारी चालकको प्रभावकारी नियमन नै आजको आवश्यकता हो’, उनले भने।

सडक पनि दुर्घटनाको कारण : सीताराम हाछेथु

अवकाशप्राप्त ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु पनि सवारीचालकहरूको तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताउँछन्।

उनका अनुसार पैसाको लोभले सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु लगायतका कारण सवारीसाधन दुर्घटना भइरहेको छ। हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले भने, ‘सडक खाल्डाखुल्डी भएका कारण पनि दुर्घटना हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.