|

रौतहट : लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो।

जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरूका लागि अहिलेको शीतलहर र ठन्डी अभिशाप बनेको छ।

घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन्।

घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण उनीहरू पराल बालेर घुर ताप्न बाध्य भएका छन्। चिसोका कारण अहिले बालबच्चामा विभिन्न रोग देखा पर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर-५ नहर टोलकी तेतरिया देवीले बताइन्।

विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै सामग्री वितरण नगरेको उनीहरूको गुनासो छ।

चन्द्रपुर नगरपालिका–५ को नहरटोलमा रहेको गरिब तथा विपन्न बस्तीको अवस्था यतिवेला दर्दनाक रहेको छ। उनीहरू पराल ओछ्याएर सुत्न बाध्य छन् भने परालै ओढेर दिन कटाउन बाध्य बनेका छन्।

जिल्लाका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न बस्तीका सर्वसाधारणका लागि स्थानीय तहले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसक्दा सर्वसाधारण मारमा परेको स्थानीय बासिन्दाले बताएका छन्।

पानी नै चुहिने फुसको घरमा तप तप चुहिने शीतलहरको वेलामा समेत उनीहरू पराल ओछ्याएर कष्टकर तरिकाले रात तथा दिन बिताउन बाध्य भएको चन्द्रनिगाहपुरका शम्भु चमारले गुनासो गरे।

रौतहटसहित तराई मधेशका जिल्लाहरूमा हरेक वर्ष जाडोले कठ्याङ्ग्रिएर मर्नेहरूको संख्यासमेत बढ्दै जाँदा पनि स्थानीय तह तथा प्रदेश सरकारले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ।

जाडोबाट बच्न रौतहटका केही स्थानीय तहले डिभिजन वन कार्यालय रौतहटसँग सहकार्य गरेर दाउरा वितरण गर्दै आएको भए पनि यस वर्ष गरिब तथा विपन्न बस्तीमा दाउरासमेत नपुगेका कारण उनीहरू पराल बालेर आगो ताप्न बाध्य भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.