|

जनकपुरधाम : धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो।

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताए।

उनले दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुननसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्ने बताए।

“दश वर्षअघि म भौतिक पूर्वाधारमन्त्री भएका बेला यहाँ सीमाक्षेत्रमा चारवटा पुल निर्माणका लागि शिलान्यास गरिएका थिएँ। केही काम भएको छ। तर एसएसबीले ‘नो म्यान्स ल्याड’मा संरचना बन्न नदिने माथिको निर्देशन भन्दै अवरोध गरिरहेको छ”,नेता  निधिले भने, “यसरी अवरोध गर्ने हो भने त नेपाल–भारत सीमाक्षेत्रका कुनै पनि पुल बन्ने अवस्था रहँदैन र बाँकी पुल किन र कसरी बने भन्ने प्रश्न आउँछ। ‘यो अवरोध हटाउन भारतीय जनता पार्टीको नेता र सांसदका हैसियतले तपाईँ निषादले पनि पहल गर्नुपर्छ।”

 नेता निधिले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारतीय जनताको भावना पनि सुनाउन आएको बताएका थिए।

छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.