विनातयारी कार्यक्रम सञ्चालनले समस्या

|

विराटनगर : शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस नेता डा शेखर कोइरालाको आगमनपछि गरियो।

सोमवार विहान ११ बजे तय भएको उदघाटन कार्यक्रम निर्धारित समयभन्दा केही ढिला शुरु भएको थियो। उदघाटनमा संघीय सांसद, प्रदेश सांसद, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु सबैको उपस्थिति रहेको थियो। 

त्यसो त कार्यक्रम स्थलको सजावट र तामझाममा खोट लगाउने कुनै पनि ठाउँ थिएन तर उदघाटन कार्यक्रमको उदघोषकविनै गरिएको कार्यक्रम सञ्चालनमा भने खोट लगाउने ठाँउ रह्यो।

कार्यक्रम कोशी प्रदेश सरकारकै महिला कर्मचारीले सञ्चालन गरेकी थिइन्। उनले अतिथि‚ मुख्य अतिथिलगायतलाई आसनग्रहण गराउँदै कार्यक्रम अगाडि बढाइन्।

आसनग्रहण गराउने क्रममा अथितिको नाम र थरसमेत उनले स्पष्ट उचारण गर्न सकिरहेकी थिइनन्। मर्यादाक्रमकै कुरा गर्ने हो भने आसनग्रहणको क्रममा पूर्वमुख्यमन्त्री समेतलाई बहालवाला मुख्यमन्त्रीकै रुपमा आसनग्रहण गराइरहेकी थिइन्। 

त्यतिमात्र होइन, प्रदेश प्रहरी प्रमुखलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव महानिरीक्षक भन्दै सम्बोधन गरिन्। पछि पुनः सच्याएर प्रदेश प्रहरी प्रमुख भनेर सम्बोधन गरेकी थिइन्।

उनले पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ठाउँमा स्थानीय प्रशासनमन्त्री भनेर पूर्वमन्त्री अमनलाल मोदीलाई मन्तव्यका लागि उदघोषण गरेकी थिइन्। 

कार्यक्रम सञ्चालनमा उदघोषकको यस्तो त्रुटि हुनुको एउटा कारण कार्यक्रमको तालिकासमेत तयार नहुनु रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार सो कारणले पनि शुरुदेखि अन्त्यसम्म कार्यक्रममा गल्ति नै गल्ति भएको हो।

‘कार्यक्रमको सेडुल बनेको रहेनछ, त्यही भएर पनि त्यहाँ धेरै त्रुटी भएको हो‚’ स्रोतले भन्यो, ‘गल्ति कार्यक्रम सञ्चालिकाको मात्रै होइन, प्राविधिक त्रुटि जानकारहरुबाट पनि भएको हो‚ सहजीकरण पनि भएन।’

मुख्यमन्त्री फेरिएपछि अस्पतालको नाम पनि फेरियो

मुख्यमन्त्री फेरिएसँगै अस्पतालको नामै परिवर्तन गरेको आलोचना बेहोर्दै आएको कोशी प्रदेश सरकारले शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरमा विधिवत रुपमा उद्घाटन गरेको छ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीले सोमवार संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्।

यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वको सरकारले कोरोना महामारीको वेला करोडौँ रकम खर्च गरेर नेशनल ट्रेनिङ लिमिटेडको पुरानो गोदामघरमा अस्पताल सञ्चालनमा ल्याएको थियो।

त्यसपछि प्रदेश सरकारले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालमा विकसित गर्ने प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ छुट्याएको थियो।

एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशस्तरीय संक्रामक रोग उपचार केन्द्रका लागि १५ लाख रुपैयाँ विनियोजन गरियो। २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार असोज २ गते सो अस्पताललाई संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा सञ्चालनमा ल्याइएको थियो।

अहिले ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर शैलैजा आचार्य हृदयरोग केन्द्र सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विद्यार्थीलाई छात्रवृत्तिबाट पढाएर भए पनि अस्पतालमा चिकित्सक नियुक्ति गर्ने दाबी गरे।

‘डाक्टर पुग्दैन होला यहाँहरुलाई चिन्ता लागेको होला यही सोचेर कोशी प्रदेशको संसदले सर्वसम्मत रुपमा बजेट पास गरेको छ। डाक्टर, वकिलका लागि छुट्टै स्कलरशिपको लागि पैसा छुट्याएको छ,’ उनले भने, ‘यसैपल्ट मुटुको विशेषज्ञ बढाउँछौँ र यो अपस्पतालमा काम गराउछौँ ढुक्क हुनुहोस्।’

प्रदेश प्रमुख खापुङले अस्पताल उदघाटनले सबै खुशी भएको र यो राम्रो कामको शुरुवात भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.