|

काठमाडौँ : साँखुस्थित शाली नदी मन्दिर परिसरमा एकमहिने स्वस्थानी व्रतका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समिति साँखुले वर्षेनि माघ महिनाको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो व्रतका व्रतालु तथा भक्तजनहरुका व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको जान‍कारी दिएको हो।

साँखुस्थित स्थानीय समरा गार्डेनमा आज (बुधवार) आयोजित पत्रकार सम्मेलनमा समितिले तयारी पूरा भएको जानकारी दिएको हो।

माघ ११ बिहीवार शुरु हुने मेलालाई व्यवस्थित र मर्यादित बनाउन शंखरापुर नगरपालिका, प्रहरी प्रशासन तथा यातायात व्यवसायीहरुको संयुक्त पहलमा धार्मिक तथा ऐतिहासिक नगरी शाली नदीमा मेला व्यवस्थित गरिएको व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए।

सो अवसरमा प्रमुख अतिथि तथा शंखरापुर नगरपालिका साँखुका मेयर रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न मूल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराए।

उनले यातायात, सुरक्षा, टाफिक, सहयोगापेक्षी (माग्नेहरुको) लगायत फोहोरमैलाको समुचित व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरी शान्त, सफा वातावरणमा मेला गरिने जानकारी दिए। उनले मातृशक्तिहरुको आत्मसम्मानका लागि स्नान गर्दाको फोटो तथा भिडियो खिच्न मनाही गरिएको पनि जनाएका छन्।

उक्त कार्यक्रममा मेला भर्न करिब २०/२५ लाख भक्तजनहरु आउने अनुमान गरिएको छ। भक्तजनले सुरक्षित, व्यवस्थित‚ सहज र मर्यादित दर्शनका लागि झैझगडा, लुटपाट, पकेटमार नियन्त्रणका लागि सम्पूर्ण सुरक्षा दस्ता तयारी अवस्थामा रहने जानकारी दिइयो।

यसका लागि सहायता डेस्कलगायत सिसीटिभी जडान गरिनुका साथै एकसयभन्दा बढी प्रहरी तैनाथ गरिने‚ सादा पोशाकमा समेत यथेष्ट प्रहरी परिचालन गरिने भएकोले शाली नदी मन्दिर परिसरमा महिला तथा पुरूष व्रतालुका लागि पूजापाठ तथा दर्शनको सहज हुने इलाका प्रशासन कार्यालय प्रमुख सीता परियारले जानकारी गराइन्।

उक्त कार्यक्रममा शाली नदी यातायात प्रालिका अध्यक्ष भूपेन्द्रबहादुर श्रेष्ठले मेला भर्न आउने दर्शनार्थीहरुको सहजताका लागि उक्त रुटमा चल्ने सार्वजनिक यातायातहरुमा निश्चित स्थानहरुको भाडादरको लिस्ट राखि व्यवस्थित गरिएको बताए।

शाली नदी यातायात प्रालि र बाबा गोकर्णेश्वर प्रालि द्वारा संयुक्त रुपमा १६० वटा र आवश्यक परेमा थप बस बन्दोबस्त गरी राति ८/९ बजे अबेरसम्म पनि मेला भर्न आउने भक्तजनहरुको सेवामा खटिने उनले बताए।

कार्यक्रममा हरेक वर्ष मेला तथा व्रतको व्यवस्थापन गर्दै आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक पक्षको रूपमा श्री स्वस्थानी र शाली नदी जोडिएकोले नेपाली पहिचानको रूपमा विश्वमाझ चिनाउनुपर्ने विचार कार्यक्रम संयोजक एलपी श्रेष्ठले व्यक्त गरेका थिए।

कार्यक्रममा श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ‚ शंकरापुर नगरपालिकाका मेयर रमेश नापित‚ उप-मेयर समिता श्रेष्ठ‚ इलाका प्रशासन कार्यालय प्रमुख सीता परियार, प्रहरी प्रभाग साँखुका प्रमुख भगवती तिमिल्सिना, शाली नदी सुधार समितिका संस्थापक अध्यक्ष जनकनारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठ, शाली नदी यातायात प्रालि अध्यक्ष भूपेन्द्रबहादुर श्रेष्ठलगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.