|

जनकपुरधाम : सरस्वती पूजा नजिकिदै जाँदा धनुषाका मूर्तिकारहरुलाई यतिखेर मूर्ति बनाउन भ्याइ नभ्याई छ। यस वर्षको सरस्वती पूजा यही फागुन २ गते बुधबारका दिन रहेको छ।

सरस्वती पूजा आउन एक साता मात्रै बाँकी रहेकोले मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन निकै व्यस्त भएका हुन्।

उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती पूजा अगाडि नै कलात्मक र आकर्षक मूर्ति निर्माण गर्ने। शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पुर्याउने उद्देश्यका साथ सदरमुकाम जनकपुरधामका मूर्तिकार रामकुमार मण्डलले बताउँछन्।

अरु बेला खासै काम नगर्ने मूर्तिकारहरु अहिले चिसोको बेवास्ता गर्दै दिनरात सरस्वती मूर्ति बनाउन व्यस्त बनेका छन्।

धनुषामा करिब ४० देखि ४५ स्थानमा मूर्तिकारहरू दिनरात मूर्ति बनाउन व्यस्त भएको छ। धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार , सबैला बजार, भठियन, बिरेन्द्रबजार, गोदार, ढलकेवर, महेन्द्रनगर , सपही चोक, लक्ष्मीनिया बजार,तरापट्टी बजार, धनुषाधाम, धरापानी,कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवालगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरू काममा व्यस्त देखिने गरेका हुन्।

मूर्तिकार रामकुमार मण्डलले आर्थिक मन्दिका कारण यो साल २७ वटा मूर्ति मात्र निर्माण गरेको बताए।

मूर्तिकार मण्डलका अनुसार उनीकहाँ तिन हजारदेखि १५ हजार रुपैयाँसम्मका मूर्ति रहेका छन्।

त्यस्तै, थाहाकर्मीसँग कुरा गर्दै अर्को मूर्तिकार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुरका ५० वर्षीय रामनारायण पण्डितले  विगत ३५ वर्षदेखि मूर्ति बनाउने काम गर्दै आएको  बताए। उनले भने,'‘सिजनअनुसार ठाउँठाउँमा घुमेर मूर्ति बनाउँछु’ अहिले सरस्वती पूजाका लागि मूर्ति बनाउने कामले व्‍यस्त बनाएको छ' मूर्तिकार पण्डितले भने।

पण्डितले यसैलाई मुख्य पेसा बनाएका उनले यसैबाट परिवार पाल्दै आएको बताउँछ। सरस्वती पूजाको लागि पाँच हजारदेखि ३० हजारसम्मको मूर्ति बनाएर बिक्री वितरण गरेको मूर्तिकार पण्डितले बताए।

सरस्वती पूजालाई लक्षित गरेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरका ४० वर्षीय रामचन्द्र पण्डित र ५५ वर्षीय जिवछ पण्डितका अनुसार दुई हजारदेखि २२ हजारसम्मको कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको बताउँछन्।

यस्तै, नगराईन नगरपालिका वडा नम्बर ५ बहुर्वाका ६० वर्षीय योगेन्द्र पण्डितले भने सिजनमा सरस्वती पूजा, गणेश पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्ण जन्माष्टमीको समयमा मूर्तिको माग हुने गरेको बताए।

यस्तै, महायज्ञहरूमा विभिन्न किसिमका मूर्ति बनाउन महायज्ञमा बोलाउने गरेको र गएर मूर्ति बनाउने काम गर्ने गरेको पण्डितले बताए।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाका ४५ वर्षीय उतिम लाल पण्डितले जनकपुरको प्रजापति मन्दिरमा सरस्वती मूर्ति बनाउँदै छन्।

उनले यो पालि ४० वटा सरस्वती मूर्ति बनाएको र यो ४ देखि ५ लाख आम्दानी हुने बताए। प्रत्येक वर्ष सरस्वती माताको ५० देखि ६० वटा मूर्ति बेचेर करिब तीन देखी ४ लाख सम्म आम्दानी गर्ने गरेको बताए।

सरस्वतीको एउटा मूर्ति बनाउन तीनदेखि चारजना लाग्छ भने महायज्ञका मूर्ति बनाउन १५ जना सहकर्मी राखेर १० दिनदेखि १५ दिनसम्म लाग्ने उनले बताए।

माटो, काठ, रंग, कपडा तथा परालको प्रयोगबाट बनाइने मूर्ति पूर्णरूपमा सुक्न र निर्माण सम्पन्न हुन ५ देखि १० दिनसम्म लाग्ने गर्दछ।

पुख्र्यौली पेसा लोभ हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले पनि उनीहरूको सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने देखिएको छ।

सरकारी निकायले युवाहरूलाई मूर्तिकार लगायत अन्य पेसाको तालिम दिएर रोजगारीमूलक बनाएमा युवाहरू विदेश जानबाट रोकिन्थ्यो। युवाहरूले यही रोजगारी गरे आफ्नो जीविकोपार्जन गर्न सजिलो हुने मूर्तिकार पण्डितले बताउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.