|

पर्वत : पाँच करोड रुपैयाँ नदिए परिवार नै सिद्ध्याइदिने धम्की दिँदै फिरौती मागेका पर्वतका दुई युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बि.क.का अनुसार पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट घर भई कास्कीको पोखरा महानगरपालिका–८ सिमलचौरमा बस्दै आएका ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका–१४ आर्थर घर भई सिमलचौरमा नै बस्दै आएका ४२ वर्षीय दीपक बहादुर क्षेत्रीलाई पक्राउ गरिएको हो।

कक्षा १२ सम्मको अध्ययन गरेका दर्जी विगत चार वर्षदेखि रोजगारीको सिलसिलामा चार वर्षदेखि कतारमा रहेका र नेपाल आएको एक महिना मात्रै भएको प्रहरीले बताएको छ। क्षेत्रीले पनि कक्षा १२ सम्मको अध्ययन गरेका र उनी कुनै पेसामा आबद्ध नरहेको पाइएको पनि प्रहरीले बताएको छ।

क्षेत्री यस अगाडि पनि प्रहरीमा पुगिसकेका व्यक्ति रहेको कास्की प्रहरीले बताएको छ। उनीमाथि २०७९ सालमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा तथा २०७१ सालमा पोखराको वडा प्रहरी कार्यालय बगरबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेका व्यक्ति भएको प्रहरी नायव उपरीक्षक बि.क.ले बताए।

अभियुक्त दुई जनाले पोखरा महानगरपालिका–१६ लामाचौर घर भई दीपमा रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक तथा सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई फोन तथा म्यासेज गरेर फिरौती मागेको पाइएको हो।

उनीहरूले गत माघ १६ गतेदेखि गैरेलाई हिन्दी भाषामा फोन तथा म्यासेज गर्दै ५० करोड रुपैयाँ माग गरेको र उक्त रकम नदिएमा गैरे र उनको परिवारका सदस्यहरूको समेत ज्यान मार्ने धम्की दिएपछि पीडित पक्षबाट कास्की प्रहरीमा निवेदन दर्ता भएको थियो।

निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान तथा खोजतलास गर्दै जाँदा पोखरा महानगरपालिका–८ सिमलचौर जाल्पा मन्दिरनजिकै डेरा गरी बस्दै आएका उनीहरूलाई धम्क्याउन प्रयोग भएको सिम सहितको मोबाइल लगायतका प्रमाणहरूसहित बुधबार (हिजो) पक्राउ गरिएको थियो।

अनुसन्धानको क्रममा लक्ष्मणले युटुवबाट गैरेको बारेमा भिडिओहरू हेरेको, उनको बारेमा थप बुझ्नको लागि माघ १३ गते सच्चाइमा गएर करिब दुई घण्टा बसेर सम्पर्क नम्बरसमेत लिएर फर्केको पाइएको छ। त्यसपछि माघ १८ गतेदेखि म्यासेजबाट धम्की दिई रकम माग गरेको, माघ २० गते दुवैजना अभियुक्त सच्चाई केन्द्रमा पुगेर घट्नाको असरको बारेमा अध्ययन गरेको, माघ २३ मा पनि सच्चाई केन्द्रमा पुगेर करिब आधा घण्टा बसेर कुरा बुझेर फर्किएको पाइएको छ।

उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूका नाम लेखिएका कागजका पाना आठ थान, मोबाइल सेट चार थान, नेपाल र भारतका सिम कार्ड, पाँच सय ७२ ग्राम गाँजा, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानो र ठुलो गरेर १४ थान मुगा, फलामको ह्याक्सो ब्लेड, गेलेण्डर मेसिन लगायतका सामग्रीहरू पनि बरामद भएका छन्।

बरामद भएका सामानहरूबाट ‘बिग मनी बिग टार्गेट’ अन्तर्गत ‘किडन्याप’, फिरौती, ‘सुट आउट’, ‘प्रोटेक्सन मनी’ ‘रिच किड्स’अन्तर्गत नेता, व्यापारी, गुन्डा, माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया तथा ‘विक पोइन्ट’ अन्तर्गत गणतन्त्र, राजतन्त्र, धर्म निरपेक्षता र हिन्दु राष्ट्र जस्ता कुराहरू लेखिएको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.