|

विराटनगर : कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीचको वार्ता सकिएको छ।

वार्ता सकारात्मक रहेको र पुनः भोलि (शुक्रवार) ८ बजे वार्ता हुने बताइएको छ। विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता भएको थियो। 

गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचान पक्षधर कोशी नाम खारेज गरेर पहिचानसहितको नामकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनकै क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो भने आन्दोलनकारी र सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।

कोशी नाम पाएदेखि अशान्त रहेको कोशी प्रदेशमा यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पनि आन्दोलनकारीसँग वार्ता गरेको थियो। त्यसवेला वार्ता निष्कर्षमा पुगेको थिएन।

आजको वार्ताको सन्दर्भमा रहेर सरकार पक्षको वार्ता टोलीको संयोजक भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जबेगु र पुनः नामांकन संघर्ष समितिका प्रवक्ता किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईसँग वार्तापछि लिएको प्रतिक्रिया यस्तो छः

सरकारी वार्ता टोली संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु

 आजको वार्ता कस्तो रहयो?

- प्रदेशको नामकरणको सन्दर्भमा छलफल गरेका छौँ। औपचारिक रुपमा आज वार्ताको शुरुवात भएको छ।

अब वार्ता भन्ने कुुरा धेरै समय लाग्छ, तत्कालै सकिँदैन। भोलि हामी विहान ८ बजे फेरि बस्छौँ। त्यसपछि के के कुरा गर्नुपर्छ‚ भोलि बैठक बस्छौँ र त्यसपछि यो-यो विषयमा छलफल भयो भनेर यहाँहरुलाई भन्छु।

यो वार्ताको औचित्य छ ? नामको मुद्दा त प्रदेशसभाले टुंगो लगाउने हो ‚तपाईंहरुसँग  दुई तिहाई बहुमत पनि छैन। वार्ता  बसेर टुंगो लाग्ला र ?

- वार्ता हामीले टुंगो लगाउने होइन। उहाँहरुसँग बसेर साझा सहमतिका साथ प्रदेश सरकारलाई हामीले सिफारिश गर्ने हो। प्रदेश सरकारले हामीले गरेको सिफारिशको आधारमा  प्रदेश संसदमा टेबल गर्छ र प्रदेश संसदले नामकरण खारेज गर्ने  हो कि नयाँ दिने हो या त्यही राख्ने प्रदेशले मात्रै टुंगो लगाउने अधिकार हुन्छ।

यो सम्भव छ?

- हाम्रो प्रयास रहन्छ।

पुनः नामांकन संघर्ष समितिका प्रवक्ता युवराज राई

 तपाईंहरुको छलफल  के के विषयमा भयो?

- हामीले कोशी नाम खारेजीको विषयमा कुरा गरेका छौँ। आन्दोलनको मागअनुसारको पुनःनामकरणको विषयमा कुरा राखेका छौँ। आन्दोलनमा घाइते भएका र झुटो मुद्दामा फसाइएका बन्दीहरु र क्षतिपूर्तिको विषयमा पनि कुरा भएको छ।

यसलाई उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ र केही वैकल्पिक कुराहरु पनि लिएर आउनुहोस् भन्नुभएको छ। यसको डिटेल पुनः भोलि वार्ता बसेर गर्ने छौँ।

यो वार्ताको औचित्य रहन्छ? सदनले टुंगो लगाउने कुरा सरकारसँग वार्तामा बसेर हुन्छ र?

- गणितको हिसाबले र संसदको हिसाबले बहुमत पुर्‍याउने सरकारको तर्फबाट पुर्‍याउने कुरा हो। हामी अस्तित्ववादी पहिचानवादीको तर्फबाट कुरा राख्ने हो। त्यो उहाँहरुले पुर्‍याउनुपर्ने कुरा हो। पुर्‍याउने प्रयास गर्छौँ भन्ने आश्वासन दिनुभएको छ।

वैकल्पिक कुराहरु लिएर आउनुहोस् भन्नुभयो‚ त्यो वैकल्पिक कुरा के हो?

- वैकल्पिक कुराहरुमा नामको विषयमा कसरी कति जनाको सहमति जुटाउन सकिन्छ। कुन कुन दलहरु सहभागी हुन सक्छन् र सहमति प्राप्त हुन सक्छ। यो विषयमा छलफल भयो।

तपाईंहरुले प्रस्ताव गर्ने नाम के हुन्छ?

- अहिले प्रस्ताव गर्ने नामको विषयमा छलफल भएको छैन। अहिले पुनःनामकरणको विषयमा मात्रै छलफल गरेका छौँ।

जस्तै एउटा नाम दिएर त्यसको विषयमा छलफल गर्दा के हुन्छ?

- अहिले त्यो हुँदैन। त्यसको विषयमा पछि छलफल गर्छौं। नाम दिएर छलफल गर्दा त्यसअनुसार अहिले पुनःनामकरण हुने अवस्था छैन। पुनःनामकरण हुन्छ भनेर जब टुंगो लाग्छ अनि छलफल गर्छौं।

तपाईंहरु निष्कर्षमा पुग्छ भनेर वार्तामा आउनुभएको कि औपचारिकताका लागि मात्रै आउनुभएको हो?

- वार्ता र छलफलबाट नै निकास निस्कने हो। निष्कर्षमा पुग्ने वार्ताबाट निष्कर्षमा पुग्छौँ भनेर नै हो हामी यहाँ वार्तामा आएका हौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.