काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृया (सेरोगेसी) का बारेमा कानूनमा सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार नेपाली चलचित्र दयारानीको प्रिमियर शो हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले सेरोगेसीबारे कानूनमा सम्बोधन गर्न नसकिरहेको अवस्था रहेको भन्दै बच्चा आफूसँग नहुँदा अभाव कसरी पूरा गर्ने भन्ने बारेमा कानूनले केही न केही सम्बोधन गर्नुपर्ने बताए।
उनले चलचित्र दयारानीले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको बताए।
उनले भने, ‘फिल्मले समाज र संस्कृतिका विभिन्न पाटाहरुलाई उजागर गरेको छ। नेपाली समाजमा बच्चा नजन्माउँदा महिलाहरुले पीडा कस्तो हुन्छ? कति पीडा भोग्छ। भन्नेकुराको गहिरो गरी अनुभूति हुनेगरी आएको छ। यस्ता घटना मेरो छिमेकमा धेरै नै छन्। श्रीमतीको मात्रै कमजोरी देख्ने, श्रीमानको कमी नदेख्ने कुरा यसमा छ। विश्वमा विभिन्न अभ्यास भएको छ। बच्चा नभए त्यस्तो सन्दर्भमा विभिन्न ढंगले पाल्न सकिन्छ, लिएर। सेरोगेसीको कुरा पनि छ। तर त्यो हामीले कानूनमा व्यवस्था गर्न सकेका छैनौँ। यसतर्फ कानूनले केही न केही सम्बोधन गर्नुपर्छ।’
प्रिमियर शोपछि बोल्दै कलाकार कमलमणि नेपालले चलचित्रको कथा नेपाली समाजकै कथा रहेको बताए। उनले एउटा समुदायको मात्रै कथा नभइ समग्र नेपाली समाजको कथा भएकाले सबैले हेर्नुपर्ने बताए। अभिनेत्री दिया पुनले चलचित्र हेर्नेहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।