|

काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सानदार प्रदर्शन गर्दै सिरिज क्लिनस्विप गर्न सफल भयो।  तेस्रो खेलमा अनिल साह र भीम सार्कीको शतकीय पारी र साझेदारीसँगै नेपालले क्यानडाविरुद्ध ९ विकेटको जित हासिल गर्‍यो।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियो। २३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३३ बल बाँकी छँदै सानदार प्रदर्शनसहित जित हात पारेको हो। ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १३ रनमा आउट भएपछि अर्का ओपनर साहलाई साथ दिन आएका भीम सार्की दुबैले शतक प्रहार गरे।

क्यानडाविरुद्ध नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुबैमा आफूलाई अब्बल सावित गरेका छन्। यो शृंखलामा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूमा आत्मविश्वास बढेको देखिन्छ। सिनियर टोलीका अनुभवी  खेलाडी दीपेन्द्रसिंह ऐरी, करण केसीबिनै मैदानमा उत्रिएको नेपालले सिरिजका तीनवटै खेलमा क्यानडाका खेलाडीमाथि दबाब कायमै गरे।

यतिमात्र होइन अनिल साह र देव खनालको राष्ट्रिय सिनियर टोलीमा पुनरागमन हुँदा १९ वर्षमुनिको टोलीका ४ जना नयाँ खेलाडीले डेब्यु गर्ने अवसर प्राप्त गरे र पाएको अवसरलाई भरपुर उपयोग गर्दै आफूलाई अब्बल सावित पनि गरे।

यसबाट आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी‚ कुशल मल्लजस्ता अनुभवी खेलाडीले आराम मात्र पाएनन्‚ कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाई पनि चिन्तामुक्त हुने संकेत देखिएको छ।

कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि खेल आफ्नो पोल्टामा पार्न भने असफल भयो।

नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २२४ रन मात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए।

अर्का ओपनर आशिफ शेखले ८ रन र कप्तान रोहित पौडेलले पनि ८ रनमात्र बनाए। भीम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन शर्राफले १५, सोमपाल कामीले २७, सूर्य तामाङले १० तथा रिजन ढकालले ४ रन बनाए।

नेपालले प्रस्तुत गरेको २२५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २१७ रनमा सीमित भयो।

क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा ७ चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गट सिंहले ५० र  हर्श थाकरले ३२ रनको योगदान दिए तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्।

नेपालका लागि कप्तान पौडेल एक्लैले ४ र ललित राजबंशीले २ विकेट लिए। सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले १/१ विकेट लिए।

तीन ब्याट्सम्यानको अर्धशतक

क्यानडाविरुद्ध शनिवार भएको दोस्रो खेल ४ विकेटले जित्दै नेपालले सिरिजमाथि कब्जा जमाएको थियो। 

टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्ने निर्णय गर्‍यो। क्यानडाले नेपालसामु २८६ रनको ठूलै लक्ष्य प्रस्तुत गरेको थियो तर नेपालले उक्त विजयी लक्ष्य ४५ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका ३ खेलाडीले अर्धशतकीय पारी खेले।

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए। उनले १०१ बल खेल्ने क्रममा ४ छक्का र ८ चौका प्रहार गरे। देव खनालले ८१ बलमा ७६ रन बनाए। उनले त्यस क्रममा २ छक्का र ७ चौका हाने भने अनिलकुमार साहले ३ छक्का र ७ चौकासहित ५० रनको योगदान दिए। भीम सार्कीले २३, पवन सर्राफले १४ र आशिफ शेखले १० रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रनको योगफल बनायो।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे। उनले ६२ बलमा १० चौका र २ छक्का हाने। नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गट सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवानले २०, दिलप्रित बाज्वाले १९ तथा साहिद अहमदजाईले १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले २/२ विकेट तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए।

भीम सार्की र अनिल साहको उत्कृष्ट प्रदर्शन

यो सिरिज अनिल साह र भीम सार्कीका लागि अविस्मरणीय बनेको छ।

अनिल साहले दोस्रो खेलमा १९ बलमा अर्धशतक हान्दै नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा पारेका छन्। तेस्रो खेलमा साहले पहिलो एकदिवसीयमा शतक प्रहार गरे।​ ११६ बलको सामना गरेका उनले ११ चौका र १ छक्का प्रहार गरे। 

सिरिजका अघिल्ला दुई खेलमा जम्न नसकेका सार्कीले पनि तेस्रो तथा अन्तिम खेलमा पहिलो एकदिवसीय शतक प्रहार गरे। उनले आज ११ चौका र १ छक्का प्रहार गरेका थिए। उनले १२७ बलमा शतक पूरा गरे। सार्कीले हालसम्म २० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा उनले ३अर्धशतक प्रहार गरेका छन्।

चारै डेब्यु खेलाडी विकेटको प्रतिस्पर्धामा

क्यानडाविरुद्धको एकदिवसीय खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका खेलाडीहरूबीच विकेट लिने प्रतिस्पर्धा देखिएको छ।

क्यानडाविरुद्धको अन्तिम खेलमा डेब्यु अवसर पाएका हेमन्त धामीले व्यक्तिगत ३ विकेट लिन सफल भएका छन्। उनको बलमा आरोन जोन्सन ४, श्रेयस मोभ्भा २५ र डिलियन हेलिगर ४ रनमा आउट भएका छन्।

क्यानडाविरुद्ध खेलमा नेपालले नयाँ अनुहारले स्थान दिएको थियो। यो सिरिजमा रिजन ढकाल, आकाश चन्द, सूर्य तामाङ र हेमन्त धामीले डेब्यु गर्ने अवसर पाए। कसिलो बलिङ गरेका उनीहरूले आफ्नो डेब्यु खेलमा विकेट लिन सफल पनि भए।

ओडिआईमा डेब्यु गरेका रिजन ढकाल सिरिजको पहिलो खेलमा नवनित धालीवाललाई ६ रनमा आउट गर्न सफल भएका थिए। ओडिआईमा डेब्यु गरेका सूर्य तामाङले सिरिजको दोस्रो खेलमा हर्ष थक्करको विकेट लिन सफल भए।

आकाश चन्दले डेब्यु गरेको खेलमा विकेट लिन सफल भए। चन्दको बलमा नवनीत धालीवाल आउट भएका थिए।  

आज तेस्रो खेलमा पनि उनी विकेट लिन सफल भएका छन्। २२ रन बनाएर खेलिरहेका​ सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलले क्याच लिँदा आउट भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.