|

विराटनगर : शैक्षिक संस्थाहरूमा चन्दा माग्दै धाकधम्की दिने र शंकास्पद तरिकाले  प्रेसर कुकर राखेर आतंक मच्याउने दुईजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।

आज (मंगलबार) मोरङ प्रहरीले पक्राउ परेको दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्लाको माङ्सेबुङ गाँउपालिका–१ गजुरमुखी घर भई हाल काठमाण्डौस्थित भिमसेनगोला डेरा बस्ने ३८ वर्षिय प्रवीण मिश्र र  पाँचथर जिल्ला च्याङ्थापु– १ का  ३० वर्षिय विपिन अधिकारी रहेको प्रहरीले जनाएको छ।

उनीहरूले केही समयदेखि मोरङ र छिमेकी जिल्लाहरूमा रहेको शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा महासचिव महाविरको  दस्तखत भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्दै आएका थिए।

विराटनगर– ३ मा  प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको सोही घटनामा संलग्न दुईजना अधिकारी र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए। 

उनीहरूले कुकरबम जस्तो देखिनेगरी चौरीमा लुकाई राखेको र स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएपछि  मोरङ जिल्लामा तैनाथ भैरव गण थलाहाबाट खटिएका बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेका थिए। 

विराटनगर-३ भुपि मार्गमा भेटिएको कालो टेपले बाँधिएको प्रेसरकुर भित्र साबुन, ईट्टा र ढुङ्खा लगायतका समान फेला परेको थियो। पक्राउ परेको अधिकारी र मिश्रले जबरजस्ती चन्दा माग गर्ने र धाकधम्की दिँदै आइरहेका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार  विराटनगरमा रहेको लर्डबुद्ध कलेजका  प्रिन्सिपललाई चन्दा माग्ने र नदिएको खण्डमा धाकधम्की  दिन उक्त शंकास्पद वस्तु बनाएको थियो। चन्दा माग गर्दै धम्की दिएको गोप्य  सूचन आएपछि सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले  सोमबार उनीहरूलाई पक्राउ गरेको एसपी पोखरेलले जानकारी दिए।

पक्राउ परेका मिश्र नेकपा (माओवादी) का झापा जिल्ला सचिवसमेत हुन्।  प्रहरीको अनुसार  मिश्रलाई मोरङ प्रहरीले सुनसरीबाट सोमबार  पक्राउ गरेको हो।  पक्राउ परेका विपिन अधिकारीको  साथबाट मुक्तिनाथ प्रकाशन गृहको प्रेसकार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्त लम्बाई रहेको डेडकर्ड , सोडा  २ केजी , सहयोग रसिद ठेली २ थान ,  आर्थिक सहयोग सम्बन्धि लेखिएको महावीर महासचिव भन्ने नेपाल कम्यूनिष्ट पार्टी (मओवादी) देखिएको पत्र ५ थान , मोबाइल तीन थान  लगायतका समाग्रीहरू बरामद भएको जिल्लो प्रहरी कार्यालय मोरङले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.