|

काठमाडौं : काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा रोक लगाएको छ।

महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको हो। 

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी गराएकी हुन्। उनको नेतृत्वमा मंगलबार अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।

‘अरूलाई नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैंले कमजोरी गरेको देखियो, अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन, यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरूले आफूलाई स्वच्छ र स्वास्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ।’

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले पनि फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना भएको नपाइएकाे बताए। ‘यसबाट हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको हो,स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ,’उनले भने।

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.