काठमाडौं : गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन्। दृष्टिविहीन हुँदा झेल्नुपरेको संघर्ष छँदै थियो। त्यसमाथि मुटुको रोग पनि थपिएको छ।
बुधबारको गोरखापत्रमा समाचार छ, चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उनी नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहेका छन्। २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहेका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ।
दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गर्थ्यो। अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ। उनले भने, ‘पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो। अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्नुहुन्छ। दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ।’
माझी मात्रै होइन, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका अन्य पनि उपचारका लागि निकै सकस र तनाव झेल्नुपर्ने तर्क गर्छन्। अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन। बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी संघका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आएका छन्।
आर्थिक वर्ष २०७३/७४ मा संघका पदाधिकारीका लागि स्कोर्पियो गाडी खरिद गरिएको छ। संघ परिसरमै रहेको नेपाल अर्थोपेडिक अस्पतालले वार्षिक रूपमा १२ लाख रुपियाँ दिने गरे पनि करिब चार वर्षको एकमुष्ट लिएर र अपुग २० लाख रुपैयाँ संघकै कर्मचारी उपदान कोषबाट लिएर उक्त गाडी खरिद गरिएको हो।
संघका तत्कालीन अध्यक्ष मोहन महर्जनले भने, ‘अर्थोपेडिक अस्पतालले कोषमा जम्मा गर्ने रकम गाडी किन्न चाहिएपछि दिएर स्कोर्पियो कार किनेका हौँ। ५८ लाख रुपियाँमा त्यो गाडी किनिएको हो।’
उनी २०७१ सालदेखि पाँच वर्ष छ महिना संघको अध्यक्ष थिए। उनले संघको कर्मचारी उपदान कोषबाट १० लाख रुपैयाँ निकालिएको बताए पनि त्यति बेलाको निर्णयमा २० लाख रुपियाँ निकासा भएको कागजातमा देखिएको छ। उक्त रकम हालसम्म पनि शोधभर्ना गरिएको छैन।
धेरै भएकाले आफूले बिर्सेको बताउँदै केन्द्रका तत्कालीन अध्यक्ष महर्जनले भने, ‘केन्द्रका आश्रितका लागि एम्बुलेन्स आफ्नै अस्पतालको छ। हाडजोर्नीसँग सम्बन्धित रोगको उपचार त्यहीँ हुन्छ। हामीलाई बाहिर जान गाडी चाहियो। त्यसैले किनेका थियौँ।’
गैरनाफामूलक रूपमा प्रयोग गर्ने गरी कोष खडा गर्न र अपाङ्गता भएका र अशक्त व्यक्तिका लागि आएको अनुदानकै रकम दुरुपयोग गरी महँगो सवारीसाधन (स्कार्पियो) खरिद गरिएको छ।
उक्त गाडी सङ्घका अध्यक्ष साम्देन लामा र महासचिव शिवचन्द्र साहले प्रयोग गरिरहेका छन्। अपाङ्गता भएका व्यक्तिले बिरामी भएर अस्पताल जाँदा व्यक्तिगत खर्चमै अपाङ्गतामैत्री व्यवस्था नभएका सार्वजनिक यातायातमा जानुपर्ने बाध्यता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।