|

काठमाडौं : गत सोमबार क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सानदार प्रदर्शन गर्दै सिरिज ‘क्लिनस्विप’ गर्न सफल भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडाविरुद्ध ९ विकेटको गर्विलो जित हासिल गरेको थियो।

त्यसको ठीक ३ दिनपछाडि उच्च मनोबलका साथ आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमै त्यही मैदानमा नै नेपालले नामिबियासँग नमिठो पराजय भोगेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली नामिबियालाई जितका लागि गतिलो लक्ष्य तेर्स्याउन नसक्दा नेपाल ४ विकेटले पराजित हुन पुग्यो।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ ओभर १ बलमात्र खेलेर ६ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

५ नेपाली ब्याट्सम्यान दोहोरो अंकमा स्कोर गर्न असफल

बुधबार प्रि-म्याच कन्फ्रेन्समा नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा नेपाली टोलीका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले व्यक्त गरेका थिए।

आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सके हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको कप्तान पौडेलको थियो। उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्नु रहेको बताएका थिए।

तर त्यसको भोलिपल्ट भएको पहिलो खेलमा नेपाली ब्याट्सम्यानलाई सस्तैमा पवेलियन पठाउँदै नामिबियाका बलरले आफ्नो धाक जमाएका छन्। नेपालका अनुभवी ५ जना ब्याट्सम्यानहरूलाई उनीहरूले दोहोरो अंकमा रन  बनाउन दिएनन्।

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेललाई पहिलो बलमा गोल्डेन डक आउट गर्दै आक्रामक सुरुवात गरेको नामिबियाले लगत्तै तेस्रो ओभरको पहिलो बलमै अनिल साहलाई ८ रनमा पवेलियन फर्काइदियो।

लगत्तै चौथो ओभरको पाँचौँ बलमा अर्का अनुभवी ओपनर आशिफ सेखलाई ४ रनमा नामिबियाका ज्याक ब्रासेलले आउट गरे।

खेल नेपालको पक्षमा फर्काउन क्रिजमा उत्रिएका घरेलु कप्तान पौडेलले १३ बल खेलेर जम्मा १ रनमात्र बनाएका थिए‚ ब्रासेलले नै उनलाई पनि दशौँ ओभरको तेस्रो बलमा बोल्ड गरिदिए। यति बेला नेपालको स्कोर ४ विकेटको क्षतिमा २१ रनमात्र थियो।

२२औँ ओभरको बलमा आउट भएका सोमपाल कामीले २ रनमात्र बनाउन सके। उनलाई पाहुना टोलीका कप्तान जेरार्ड एरास्मसले फ्राइलिंकको हातबाट क्याच आउट गराए।

आजको खेलमा ५ जना नेपाली ब्याटरहरुले दोहोरो अंकमा स्कोर गर्न असफल भए।

जिततर्फ डोर्‍याउने भीम सार्कीको प्रयास

कप्तान पौडेल आउट भएपछि मैदान छिरेका भीम सार्कीले खेललाई नेपालको पक्षमा ल्याउन मिहिनेतमात्र गरेनन्‚ टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर गरे।

८६ बल खेलेका उनले नेपाललाई खेलमा फर्काउन २ चौका र १ छक्काको मद्दतले ४४ रन बनाए तर उनको यो एक्लो मिहिनेत पनि नेपाललाई जिताउन पर्याप्त भएन।

उनलाई साथ दिइरहेका कुशल मल्लले १ चौका र १ छक्काको सहायतामा १५ रन बनाउँदै आउट हुन पुगे। मल्ल र सार्कीले पाँचौँ विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गरे।

लगत्तै गुल्शन झाले पहिलो बलमा चौका हान्दै क्रिजमा आफ्नो उपस्थिति जनाए। ३१ बल खेलेका उनी ३ चौका हान्दै २१ रन बनाएपछि पवेलियन फर्किए।

एक छक्का हानेका पवन सर्राफ पनि १२ रनमा आउट हुन पुगे। त्यसपछि मैदानमा आएका करण केसीले केही चौका हान्दै नेपालको स्कोर बढाउने आसलाग्दो लक्षण देखाए पनि ३ चौकाको सहायतामा ३८ बलको सामना गरेर १६ रन बनाएपछि पाहुना कप्तान एरास्मसको एलबीडब्ल्यू धरापमा परेर आउट भए।

 जेरार्ड एरास्मसको कप्तानी बलिङ

नेपाललाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द म्यान बनेका नामिबियाका कप्तान जेरार्ड एरास्मसले महत्वपूर्ण ५ विकेट लिन सफल भए। ब्याटिङमा भने उनी चल्न सकेनन्। उनी २२ बलमा ८ रनमात्र बनाएर आउट भए तर त्यसअघि उनले घातक र आक्रामक बलिङ गर्दै ५ विकेट लिए।

८ ओभर बलिङ गरेका उनले ५ विकेट हात पार्दा २८ रनमात्र दिए। उनले नेपाललाई खेलमा फर्काउन खोजेका भीम सार्कीलाई आउट गर्दै खेल फेरि नामिबियाको पक्षमा ढल्काएका थिए।

सार्कीलाई आउट गरे लगत्तै गुल्शन झा‚ पवन सर्राफ र करण केसीलाई पनि उनले आफ्नो धारिलो बलिङको शिकार बनाए।

रुबिन ट्रम्पेलमनले पहिलो बलमा ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए। उनले नै अनिल साहको विकेट पनि लिए।

ज्याक ब्रासेलले आशिफ शेख र रोहित पौडेललाई आउट गरे। 

सोमपाल‚ ललित र रोहितको बलिङ

जितका लागि १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नामिबियाको पहिलो विकेट भने ललित राजवंशीले लिए। उनको बलमा २३ रन बनाएर खेलिरहेका माइकल भान लिङगेनलाई देव खनालले क्याच आउट गरिदिए।

लगत्तै ललितले नै निकोलस डेभिनलाई पनि पवेलियन फर्काए। ललितको बलमा १५ रन बनाएर खेलिरहेका निकोलसलाई कुशल भुर्तेलले क्याच आउट गरे।

सोमपाल कामीले ३ विकेट लिए। कामीको बलमा ३४ रन बनाएका जान फ्रालिंकको क्याच कुशल भुर्तेलले समाते। ८ रन बनाएका नामिबियाली कप्तान जेरार्ड एरास्मसले कामीको बलमै पवन सर्राफलाई आफ्नो क्याच थमाए र आउट भए।

२ रन बनाएका जान ग्रीन पनि कामीको बलमा आशिफ सेखबाट क्याच आउट भए। कप्तान पौडेलले ३१ रन बनाएर खेलेका जान निकोललाई एलबीडब्ल्यू धरापमा पारे भने केसी, सर्राफ, झा र मल्लले कुनै रन लिन सकेनन्।

नेदरल्याण्ड्ससँगको खेल शनिबार

नेपालले पर्सि (शनिबार) नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच एकदिवसीयमा ३ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ।

३ वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप खेल्न पाउने छन्। खेल सन् २०२४ देखि २०२७ सम्म चल्नेछ। 

नामिबिया र नेदरल्याण्ड्ससँगको शृंखला सकिएलगत्तै लिग-२ का सबै राष्ट्र समावेश रहेको खेल पनि नेपालमै हुनेछ।

सन् २०२७ मा दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा संयुक्त रुपमा हुने विश्वकपका लागि छनोट प्रक्रियासमेत रहेको लिग-२ मा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। 

यसमा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.