|

विराटनगर : विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ।

जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन्। आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको थिएन। जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन्।

विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा छ। मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाका अनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरू समेत निरीक्षण गरेर गएको बताए।

उनले सरकारले आगामी वैशाखबाट मिल्स पुनःसंरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वले आगलागी गराएको आशंका रहेको बताए। उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए। उनले केही समयभित्रै जुट मिल्स सञ्चालन गर्ने कुरा भएको बताए।

विराटनगर महानगरपालिका वडा नम्बर नं.१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सका चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए। उनले लागुऔषध सेवनकर्ता तथा चोरीमा संलग्नले आगजनी गरेको हुनसक्ने आशंका रहेको बताए।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागी भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए। उनले  आगलागीबाट तीनवटा पुराना मेसिन नष्ट भएको पाइएको बताए। उनले आगलागीमा २० लाख बराबरको क्षति भएको बताए। उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.