|

काठमाडौं : नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा प्रदेश १ इन्चार्ज गोपाल किराती निर्वाचन अवधिभर आफ्नै कार्यक्षेत्रमा खटिए। सशस्त्र विद्रोहमा जति नै मेहनत स्थानीय तह निर्वाचनमा गरेको बताउने किरातीको प्रदेशमा पार्टीका लागि सन्तोषजनक नतिजा आएन।

निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि आगामी २ साउनमा बस्ने पार्टी सचिवालय बैठकमा उनले पार्टी सर्वहाराकरण गर्नुपर्ने र एमालेविरुद्ध कठोर वैचारिक संघर्षमा उत्रनुपर्ने माग बोकेर प्रस्तुत हुँदैछन्। ‘जनयुद्धकै जति चुनावमा खटियो तर सोचेजस्तो नतिजा आएन’ उनले भने, ‘अब पार्टी यहीँ तरिकाले चलेर नहुने भयो, संशोधनवाद तथा एमालेविरुद्ध वैचारिक संघर्षमा उत्रनुपर्दछ, पार्टी सर्वहाराकरण गर्नुपर्दछ।’

अर्का हेडक्वार्टर सदस्य मणि थापा निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा प्रमुख कारण आन्तरिक नै रहेको ठान्छन्। ‘माओवादीले आफ्नो विचार र एजेन्डालाई जनतासम्म पुर्‍याउनै सकेन,’ उनले भने ‘उज्यालो नेपाल माओवादी नेतृत्व सरकारले गर्‍यो। आर्थिक वृद्धिसहित विकासमा थुप्रै काम भए। यस्ता धेरै काम भए पनि जनतासम्म पुर्‍याउन सकेनौं।’ पार्टी एकतालाई तल्लो तहसम्म पुर्‍याउन नसक्नुले पनि असर गरेको उनको भनाइ छ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो दल भए पनि नतिजा भने सन्तोषजनक नभएको नेताहरूको विश्लेषण छ। चुनावअघि २ सयभन्दा बढी सिट जित्ने दाबी गर्ने माओवादी केन्द्रले दुई चरणको निर्वाचनमा गरेर सय सिटसमेत जित्न सकेन। माओवादी केन्द्रले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ सिट जितेको छ। पहिलो हुने एमालेले २ सय ७६ र दोस्रो दल बनेको कांग्रेसले २ सय २६ स्थानीय तहमा नेतृत्व जित्दा माओवादी भने सयभन्दा तल पुगेको छ।

हेडक्वार्टर सदस्य मातृका यादव संगठन निर्माणमा ध्यान नदिँदा पार्टीले सोचेअनुसार नतिजा नल्याएको बताउँछन्। ‘हामी जसरी यो प्रक्रियामा आयौं, पहिलो निर्वाचन रापतापले जितियो। वैचारिक विवादपछि दोस्रो संविधानसभाको निर्वाचनमा एक घटकले मात्र भाग लियो। पार्टी तेस्रो भयो। खास कुरो पहिलो निर्वाचनमा किन जितियो। र, पछि किन हारियो भनेर त्यतिबेलै राम्ररी समीक्षा भएन, समीक्षा गरेर अघि बढ्न नसक्नु पनि कमजोरी भयो।’

प्रदेश दुईका इन्चार्जसमेत रहेका यादव जनतामा नगएकै कारण पार्टीले हार बेहोरेको बताउँछन्। ‘पार्टी जनतामा नै गएन। संगठन निर्माणमा ध्यान नै गएन। उनले भने, ‘खेती नलगाउने अनि बाली मात्र काट्न खोजेर हुन्छ र? मलाई त अपेक्षाभन्दा राम्रो आयो जस्तो पो लाग्छ।’

माओवादी युवा नेता लेखनाथ न्यौपाने त यो निर्वाचन गाउँपालिका र नगरपालिका सदस्यको प्रयासमा मात्र जितेको ठान्छन्। ‘कतिपय ठाउँमा बुथ कमिटीसमेत भेटिएन, बुथ कमिटी नै नभएका ठाउँहरूबाट के अपेक्षा गर्ने,’ ३ हजार ९ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति सदस्यहरू चुनावमा सक्रिय नभएकोप्रति व्यग्य गर्दै उनले भने, ‘जहाँ जसले जे भने पनि व्यवहारमा गाउँपालिका र नगरपालिकाका हाम्रा उम्मेदवारले मात्र निर्वाचन लडेको देखियो।’

माओवादीभित्र पार्टी एकता र गुटगत राजनीतिले पनि चुनावमा पराजय भएको चर्चासमेत चुलिएर गएको छ। हेडक्वार्टर सदस्य यादव दुई प्रदेशको निर्वाचनमा एकताबद्ध भएर र यो गुट त्यो गुट नभनी मैदानमा जान सके राम्रो नतिजा आउने बताउँछन्। अर्का हेडक्वार्टर सदस्य थापा पनि पार्टी एकतालाई गाउँ कमिटीसम्म पूर्णता दिन नसक्दा पनि चुनावमा सोचेअनुरूप नजिता नआएको बताउँछन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि थाइल्यान्डमा रहेका छन्। उनी शुक्रबार काठमाडौं आउनेछन्। थाइल्यान्ड प्रस्थान गर्नुअगाडि मंगलबार हेडक्वार्टर बैठक बोलाएर उनले २ साउनको बैठकको एजेन्डा प्रस्तुत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.