|
फाइल तस्वीर ।

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरूको संसद् बनेको बताएका छन्।

मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको पनि बताए। उनले सबै भ्रष्टाचारीलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।

उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए। पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेको उनले स्पष्ट पारे।

ढुंगानाले भने, ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो। यो पार्टी, ऊ पार्टीको कुरा होइन। एउटा मान्छे सबै जवानी खर्च गरेर म सांसद हुँला भनेर एउटा क्षेत्र बनाउँछ। पार्टीलाई पनि थाहा छ, यो जनसेवी छ। खुत्रुक्क कुन नेताको खल्तीमा करोडौँ पर्छ, त्यसले टिकट पाउँछ। दलमा भ्रष्टाचार टिकट बेच्नमा शुरु भइसकेको छ। यो रोक्न सक्छौँ हामी ? २०८४ को संसद् कस्तो होला कल्पना गर्नुस् त? खालि ठेकेदार, फटाहा र स्पन्सरहरूको र अहिले सुन चोरहरूको संसद् बन्न गइरहेको छ। भ्रष्टाचारीको संसद् बनाउन गइरहेका छौँ।’

उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै जनताले आन्दोलन गरेमा २०७२ सालको संविधान उल्टिन सक्ने बताए। उनले जनताको आन्दोलनका कारण २०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिए। मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदा समेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको उनले दृढता व्यक्त गरे।

ढुंगानाले भने, ‘संविधान लागू भएको ८ वर्ष भएको छैन, यसका सबै आधारभूत चरित्रमाथि प्रश्न उठिराखेको छ। जनता सडकमा आइरहेका छन्। संवाद शुरु गर्ने कि नगर्ने ? निषेध गर्‍यो भने कहाँ पुर्‍याउँछ ? हामीले अर्को पक्ष कमजोर भन्नु हुँदैन। हामी पनि त मास आन्दोलन गरेर आएका हौँ नि। मन्त्रीहरू भ्रष्टाचारमा मुछिएर अख्तियार जानुपर्ने अवस्था आएको छ।’

पूर्वसभामुख ढुंगानाले सबै विरोधीहरू गणतन्त्रविरोधी नभएको पनि बताए। उनले सबभन्दा पहिले जनताले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताए।

पूर्वसभामुख ढुंगानाले संविधानको सुधार तथा परिमार्जन गरेर मुलुकलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए। उनले संविधान संशोधन नगरेमा मुलुक अस्थिरतामा जाने चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.