|

म्याग्दी : जिल्लाको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध लगाइएको छ। हुक्काले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो। 

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको हो। गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरूपमा बिक्री वितरण र सेवनमा निषेध गरेको नगर प्रमुख सुरत केसीले जानकारी दिए। युवायुवतीलाई कुलतमा लगेको निष्कर्ष निकाल्दैहुक्का सेवन र बिक्री वितरणमा निषेध गरेको उनले बताए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ। 

कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाए सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए। 

निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले जनप्रतिनिधि र नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कामा प्रतिबन्ध लगाउने योजना अघि बढाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.