|

फुङ्लिङ : नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आज (बिहीवार) गृहजिल्ला ताप्लेजुङमा मोतिबिन्दुका विरामीको शल्यक्रिया शुरु गर्ने भएका छन्। उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधारणको शल्यक्रिया गर्ने जानकारी दिए।

जिल्लास्थित नेपाल नेत्रज्योति संघले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो।

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा रुइत गृहजिल्ला आएको संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए। विभिन्न गाउँबाट शल्यक्रियाका लागि सिफारिश भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया शुरु भएको उनले जानकारी दिए।

आज शुरु भएको शल्यक्रिया ३ दिनसम्म सञ्चालन हुने संघले जनाएको छ। डा रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको संघले जनाएको छ।

सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज सेवा दिएर पठाउने योजनाअनुसार काम भइरहेको संघका जिल्ला सहसचिव युवराज गिरीले बताए। उनका अनुसार अहिले नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ। 

आँखाको परीक्षणका लागि आइपुगेको तिलगंगा आँखा अस्पतालको प्राविधिक टोलीले आज विहानैदेखि परीक्षण तथा उपचार शुरु गरेको छ। 

परीक्षणका क्रममा छनोट भएका मोतिबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए।

संघले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतिबिन्दुका विरामीको छनोट गरिसकेको छ। उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.