|

काठमाडौं : सुर्खेतकी ९ वर्षीया प्रीति विकले काठमाडौंमा ७ वटा गीत रेकर्ड गराएर गाउँ फर्किएकी छन्। आज (बिहीवार) उनी आमासँगै गाउँ सुर्खेत फर्किएकी हुन्।

फागुन ३ गते सुर्खेतको जनजागृत आधारभूत विद्यालयमा आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतमार्फत सुनाएकी थिइन्। उनका बुबालाई सम्झिँदै रोएर गाएको उक्त गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो।

त्यसपछि प्रीतिलाई युट्युबर भोजराज थापाले काठमाडौँ ल्याएका थिए। उनका अनुसार प्रीतिले हालसम्म ७ वटा गीत रेकर्ड गराएकी छन्। ३ वटा युट्युबमा आइसकेका छन् भने अरू सार्वजनिक हुने क्रम जारी छ।

प्रीतिले गाएको विनोद घिमिरेको शब्दको ‘हे बाबा’ गीत अहिले ट्रेन्डिङ ७ मा छ। गत शनिबार युट्युबमा सार्वजनिक भएको उक्त गीतले १२ लाख ४६ हजार ५६८ भ्यूज पाएको छ।

उक्त विद्यालयका अनुसार आर्थिक अवस्था कमजोर भएकी प्रीतिका बुबा दीपक विकको ३३ वर्षकै उमेरमा दुई वर्ष पहिले मृगौला रोगका कारण मृत्यु भएको थियो। त्यसपछि गुजारा चलाउन उनीहरूलाई समस्या भएकाे थियाे।

काठमाडौंबाट सुर्खेत फर्किँदै गर्दा बुबालाई निकै सम्झिएको प्रीतिले सुनाइन्। उनले भनिन्, ‘स्वर्गीय बाबाले मैले गीत गाएको थाहा पाउनुभयो होला, गीत रेकर्डिङ गर्न पाएर रमाइलो लागेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.