|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिबद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुन गएको बताएका हुन्। उपसभापति अर्यालले सरकारले सो सुरुङमार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिरसमेत गरे।

उनले भने, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ। स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ।’

उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए। सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो। तर, स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.