|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्। प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रताका साथ विकास भएको दाबी गरे। उदाहरण प्रश्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार किमी बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गरे।

उनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गरेको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताए।

उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आह्वानसमेत गरे।

उनले भने, ‘म यहाँहरुलाई के भन्छु भने ३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हेर्‍यौँ। त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तीव्र विकास भएको छ । गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रतामा विकास भएको छ। आज प्रधानमन्त्रीज्यूले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ। युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ।'

उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.