|

रामपुर (ओखलढुंगा) :  वरुणेश्वर सेवा समाजले रामपुरमा अस्पताल भवन निर्माण कार्य तत्काल थाल्न गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएको छ। सेवा समाजले आइतबार मोलुङ गाउँ कार्यपालिकाको कार्यालय प्राप्चा पुगेर अध्यक्ष उत्तम राईसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो।

'पाँच शैय्याको अस्पताल निर्माण प्रयोजनको लागि मोलुङ २ निवासी रमा दाहाल, चतुरभुज दाहाल श्री उत्तम दाहालले गरी जम्मा ९ रोपनी जग्गा गाउँअनुसार करीव १०००००००/- (अक्षररुपी एक करोडभन्दा माथि पर्ने जग्गा नि:शुल्क उपलब्ध गराएका र यथाशीघ्र अस्पताल बनाउने प्रक्रिया अनुरूप मोलुङ गा.पा. ले मिति २०७० फागुन २८ गतेका दिन राष्ट्रिय दैनिकमा ५ शैयाको अस्पताल भवन निर्माणको लागि ठेक्का लागेकोमा हालसम्म भवन निर्माण कार्य सुरु नभएकोमा हामीलाई अत्यन्तै दु:ख लागेको छ' ध्यानाकर्षण पत्रमा भनिएको छ।

करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराउँदा समेत निर्माणकार्य अगाडि बढाउने अवस्था देख्न र अनुभव गर्न नपाउँदा जग्गा दातालाई जग्गा प्रदान गर्नुको औचित्य नै पुष्टि हुन नसकेको समेत उनीहरूले बताएका छन्।

साथै स्वास्थ्य सेवा प्राप्त गर्ने जस्तो संवेदनशील विषयमा यो ढिलासुस्तीले यहाँका जनतालाई निराश बनाएकाले अविलम्ब अस्पताल भवन निर्माण कार्य अघि बढाउनुपर्ने उनीहरूको माग छ।

जवाफमा अध्यक्ष राईले अस्पताल निर्माणका लागि पालिका जहिल्यै सकारात्मक रहेको र पालिकाको तर्फबाट काम नरोकिएको बताए। उनले भने, 'रामपुरमा अस्पताल निर्माणका लागि गाउँपालिका जहिल्यै तयारी र तत्पर अवस्थामा छ। अख्तियारमा मुद्दा परेका कारण केही समयका लागि काम रोकिएको हो त्यो फैसला नहुन्जेल पालिकाले केही गर्नसक्ने अवस्था छैन। अख्तियारको निर्णय आउनासाथ पुन: निर्माणकार्य अघि बढ्छ।'

गाउँपालिकाले यसअघि नै अस्पताल निर्माण मोलुङ-२ रामपुरमा गर्ने निर्णय गरिसकेको थियो। हाल रामपुरमा स्वास्थ्य चौकी मात्रै छ। 

रामपुर बजार सहरी क्षेत्रका रुपमा विकास हुँदै गएकाले जनसंख्याको चापसमेत बढ्दै गएको अवस्थामा यस क्षेत्रमा अस्पताल निर्माण हुनुपर्ने सबैले महसुस गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.