३३ जनाले आफैंलाई पनि भोट हालेनन् कि हाल्न जानेनन्?
३३ जनाले आफैंलाई पनि भोट हालेनन् कि हाल्न जानेनन्?
काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। देशभरका कुल ७४४ स्थानीय तहमध्ये ६१७ वटामा निर्वाचन सम्पन्न भएको हो। जसमा प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय तह सामेल छन्।
प्रदेश नं. ३ अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मत गणना भने विवादका कारण सम्पन्न हुन सकेको छैन। भरतपुरलाई छाड्ने हो भने चुनाव भएका ६१७ मध्ये ६१६ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन गर्ने तयारी छ।
मुलुकलाई नयाँ ढंगले पुन:संरचना गरेपछि भएको यो निर्वाचनको जनादेशलाई हामी तथ्याङ्कका आधारमा विश्लेषण गर्दैछौं।
यस श्रृंखलाको सुरुवात गरौं, प्रदेश नम्बर १ बाट। यहाँ प्रमुख दलहरुले प्राप्त गरेको समग्र मत, जितेको सिट संख्या, प्रतिस्पर्धामा रहेका तह लगायतलाई इन्फोग्राफिक्समा देखाएर विश्लेषण गरिएको छ।
झण्डै ७५ प्रतिशत मत एमाले-कांग्रेसलाई, माओवादी तेस्रोमै, राप्रपाभन्दा संघीय समाजवादी अगाडि
१ नम्बर प्रदेशमा दलहरुले पाएको समग्र मत : (अध्यक्ष/प्रमुखका आधारमा) : स्रोत- निर्वाचन आयोग
प्रदेश नम्बर १ मा कुल सदर मतको झण्डै ७५ प्रतिशत मत ठूला दुई दल एमाले र कांग्रेसले नै प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले जम्मा १३.६४ प्रतिशत मत पाएको छ। जबकि पहिलो दल बनेको एमालेले ३८.३२ र दोस्रो बनेको कांग्रेसले ३६.४१ प्रतिशत मत पाएका छन्।
एमाले-कांग्रेससँग माओवादीले पाएको मतको जति ठूलो अन्तर छ, त्यति नै ठूलो अन्तर चौथो दल संघीय समाजवादीसँग उसको छ। 'पपुलर भोट'मा चौथो बनेको संघीय समाजवादी फोरमले जम्मा २.५९ प्रतिशत मत पाएको छ। यस्तै पाँचौं बनेको राप्रपाले २.५७ र छैटौं बनेको लोकतान्त्रिक फोरमले १.७२ प्रतिशत मत पाएका छन्।
तीन दलबाहेक अरुलाई संसदमा 'नो इन्ट्री' !
संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघको चुनाव भइसक्नुपर्नेछ। आसन्न यी दुवै चुनावमा एमाले, कांग्रेस र माओवादीबाहेक अन्य सबै दललाई 'थ्रेसहोल्ड'बाट बच्न नै संघर्ष गर्नुपर्ने संकेत १ नम्बर प्रदेशको जनमतले गरेको छ।
संघमा समानुपातिक सिट प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा कुल खसेको मतको ३ प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्ने हुन्छ। यद्यपि त्यो समग्र देशभरबाट प्राप्त मतमा निर्भर हुन्छ, बाँकी प्रदेशले यो क्षतिलाई परिपूर्ति गर्ने सम्भावना भने रहन्छ। तर पनि १ नम्बर प्रदेशबाट ३ दलबाहेक अन्यलाई 'थ्रेसहोल्ड'बाट बचाउने मत प्राप्त भएको देखिएन।
प्रदेशमा १.५ प्रतिशत 'थ्रेसहोल्ड'को व्यवस्था छ। जसमा भने संघीय समाजवादी, राप्रपा र लोकतान्त्रिक फोरम बल्लतल्ल अस्तित्व बचाउन सफल हुने देखिएको छ। यद्यपि केही तहमा भने यी दलहरुले अध्यक्ष/प्रमुख छाडेर अन्य दलसँग तालमेल गरेका छन्।
अधिकांशमा प्रतिस्पर्धा एमाले-कांग्रेसबीच
प्रदेश नम्बर १ मा चुनाव भएका १३७ स्थानीय तहमध्ये अधिकांशमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा देखिएको छ। ६९ स्थानमा जित हात पार्दा एमाले ५२ स्थानमा निकटतम प्रतिद्वन्द्वी रह्यो। कांग्रेसले ५१ स्थानमा जित हात पार्यो र ६७ स्थानमा विजयी उम्मेदवारलाई नजिकबाट चुनौती दियो। यसबाट पनि प्रष्ट हुन्छ, प्रदेश नम्बर १ मा मुख्यत: यी दुई दलबीच नै प्रतिस्पर्धा देखियो।
कांग्रेस एमालेले १/१ स्थानमा भने अध्यक्ष छाडेर तालमेल गरेका थिए। कांग्रेसले भोजपुरको ट्याम्केमैयुम गाउँपालिकामा संघीय समाजवादीलाई तथा एमालेले पाँचथरको तुम्मेवा गाउँपालिकामा माओवादी केन्द्रलाई अध्यक्ष छाडेका थिए।
जितमात्र होइन, प्रतिस्पर्धामा पनि बाँकी दल कमजोर
एमाले-कांग्रेसबाहेकका दलहरुले धेरै स्थानीय तहमा अध्यक्ष/प्रमुख छाडेर चुनावी तालमेल गरेका थिए। जसमा माओवादीले ११ स्थानमा अध्यक्ष तथा प्रमुख छाड्यो। केही स्थानमा अध्यक्ष लिएर पनि तालमेल गरेकाले पाएको मतलाई उनीहरुले पाउने वास्तविक मतकै हाराहारीमा मान्न सकिन्छ।
तेस्रो बनेको माओवादी केन्द्रले ९ स्थानमा जित हात पार्दा ११ स्थानमा मात्रै निकटतम प्रतिद्वन्द्वी भएर प्रतिस्पर्धामा आउन सक्यो। यस्तै ३ स्थानमा जितेको लोकतान्त्रिक फोरमले २, ३ स्थान नै जितेको राप्रपाले १ तथा २ स्थान जितेको संघीय समाजवादीले ३ स्थानमा निकटतम प्रतिद्वन्द्वी भएर विजयी उम्मेदवारलाई नजिकबाट चुनौती दिए। बाँकी १ स्थानमा यी दलबाहिरका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी रहे।
यसले के देखायो भने एमाले-कांग्रेसबाहेकका अन्य दलले जितमात्रै हात नपारेका होइनन्, प्रतिस्पर्धामा नै कमजोर देखिए।
३३ जनाले आफैंलाई पनि भोट हालेनन् कि हाल्न जानेनन्?
एक नम्बर प्रदेशको १३७ स्थानीय तहमा अध्यक्ष र प्रमुखमा गरी ९२० जनाको उम्मेदवारी परेको थियो। जसमा १७ प्रमुख र १६ अध्यक्ष पदका उम्मेदवार गरी ३३ जनाले एक मत पनि पाएनन्। उनीहरुले कि आफैंलाई भोट हालेनन्, कि त हाल्न जानेनन् (बदर भयो)। यसरी १ भोट पनि नपाउने ३३ मध्ये ३२ जना स्वतन्त्र र १ जना नेपाल मजदूर किसान पार्टीका उम्मेदवार छन्।
(माथिका सम्पूर्ण इन्फोग्राफिक्स र डाटाहरु निर्वाचन आयोगको तथ्याङ्कमा आधारित छ।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।