वडाध्यक्ष कसैले जित्न सकेनन्, खुल्ला सदस्यमा ७ जना मात्रै

|

विराटनगर : स्थानीय तहको निर्वाचनबाट मोरङका १७ स्थानीय तहमा आठ सय २९ जनप्रतिनिधि निर्वाचित भएका छन्। यसमध्ये तीन सय ३९ महिला छन्।
संविधानअनुसार स्थानीय तहमा न्युनतम ४० प्रतिशत महिलाको प्रतिनिधि हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण ठूलो संख्यामा महिला जनप्रतिनिधि चुनिएका हुन्।

जिल्लाका सबै १७ स्थानीय तहका उपप्रमुख\उपाध्यक्ष महिला निर्वाचित भएका छन्। यस्तै जिल्लाका एक सय ५९ वडामा महिला सदस्य र दलित महिला सदस्य गरी तीन सय १८ जना महिला वडा सदस्य निर्वाचित भएका छन्। त्यसबाहेक खुल्ला सदस्य तीन सय १८ जनामा भने ७ जना मात्र महिला निर्वाचित भएका छन्। 

जिल्लाका कुनै पनि तहको प्रमुखमा मुख्य दलहरुले महिलालाई उम्मेदवार नबनाएकोले उनीहरू उपप्रमुखमा मात्र सिमित भएका हुन्। बाध्यकारी व्यवस्थाका कारण मात्र महिलाहरुको प्रतिनिधित्व भएको देखिएको छ। किनकी जिल्लामा रहेका एक सय ५९ वडामा एउटामा पनि महिला अध्यक्ष निर्वाचित हुन सकेनन्। 

जिल्लाका वडाध्यक्ष निर्वाचित नभए पनि खुल्ला सदस्यतर्फ कांग्रेसका ३, संघीय समाजवादी फोरमका २ र एमालेका २ महिला सदस्य निर्वाचित भएका छन्। यसरी खुलातर्फ सदस्यमा निर्वाचित हुनेमा विराटनगर– १३ मा राधा सुरेन (संघीय), बेलबारी– २ मा मनु श्रेष्ठ (एमाले), मिक्लाजुङ–९ मा सीतादेवी मगर (कांग्रेस), कटहरी–२ मा कमला कोइराला (कांग्रेस), जहदा–३ मा सीतादेवी राजवंशी (संघीय), लेटाङ–१ मा आसमाया मगर (एमाले) र विराटनगर ७ मा शीला श्रेष्ठ (कांग्रेस) निर्वाचित भएका छन्।

जिल्लामा प्रमुख दलहरुमध्ये माओवादी केन्द्रले सुन्दर हरैचा नगरपालिकामा मात्र प्रमुखमा महिला उम्मेदवार खडा गरेको थियो। जिल्लामा प्रमुख पदकी एक मात्र उम्मेदवार लता न्यौपानेले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो। त्यसबाहेक प्रमुख दलहरुले सबै स्थानको प्रमुखमा पुरुष र उपप्रमुखमा महिला उम्मेदवार बनाएकोले जिल्लाका सबै तहको प्रमुखमा पुरुष र उपप्रमुखमा महिला निर्वाचित भएका हुन्।

जिल्लाका १७ स्थानीय तहको एक सय ५९ वडामा आठ सय २९ जना जनप्रतिनिधि निर्वाचित भएकोमा जनप्रतिनिधिको संख्या अझै ४३ जना थपिनेछ। स्थानीय तहको कार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट गाउँपालिकामा २ जना र नगरपालिकामा ३ जना सिधै निर्वाचित हुनेछन । यसरी निर्वाचित भइसकेपछि जिल्लामा जनप्रतिनिधिको संख्या आठ सय ७२ पुग्नेछ।

जिल्लाको वडाध्यक्षहरुमा महिलाको प्रतिनिधित्व नभएका कारण गाउँ÷नगर कार्यपालिकामा महिलाको उपस्थिति भने कमजोर बनेको छ। तर, कार्यपालिका गठन गर्दा गाउँ\नगरमा निर्वाचित भएका सदस्यहरुमध्येबाट गाउँपालिकामा ४ जना र नगरपालिकामा ५ जना महिलालाई कार्यपालिकामा निर्वाचित गर्ने व्यवस्था रहेको छ। यस्तै गाउँ\नगर सभाले निर्वाचित गरेका दलित र अल्पसंख्यक सदस्य पनि कार्यपालिका सदस्य हुनेछन्। उनीहरुको हैसियत वडाध्यक्ष बराबरको हुनेछ ।

जातीय प्रतिनिधित्व यस्तो 

जिल्लामा रहेका १७ स्थानीय तहका प्रमुखमा ६ ब्राह्मण–क्षत्री, ४ जनजाति, ४ मधेसी, २ थारु र एक मारवाडी समुदायबाट निर्वाचित भएका छन्। विराटनगरका भीम पराजुली, सुन्दर हरैचाका शिवप्रसाद ढकाल, बेलबारीका ज्ञानेन्द्र सुवेदी, मिक्लाजुङका देवीप्रसाद आचार्य, केराबारीका रोहितकुमार कार्की र कानेपोखरीका ताराबहादुर काफ्ले ब्राह्मण–क्षत्री समुदायका हुन्। यस्तै जनजातिबाट उर्लाबारीका खड्ग फागो, पथरी शनिश्चरेका दिलिपकुमार राई, रतुवामाईका रविन राई र लेटाङका शंकर राई प्रमुख बनेका छन्।

कटहरीका राजकुमार कामत, जहदाका कैलाश मण्डल, सुनवर्षीका कालिप्रसाद दास र धनपालथानका हरिलाल सिंह मधेसी समुदायका प्रतिनिधित्व गर्छन् भने बुढिगंगाका बालचन्द्र माझी र ग्रामथानका शिवनारायण माझी थारु समुदायका हुन्। मारवाडी समुदायका प्रमुख रंगेलीका दिलीप बगडिया प्रमुख भएका छन् ।      

उपप्रमुखतर्फ भने ७ ब्राह्मण–क्षत्री, ५ जनजाति, एक दलितसहित २ मधेसी, २ थारु र एक मुस्लिम महिला निर्वाचित भएका छन्। जिल्लाका विराटनगर महानगरपालिकासहित ९ नगरमध्ये ७ नगरमा ब्राह्मण–क्षत्री र २ मा जनजाति उपप्रमुख बनेका छन्। गाउँपालिकामा अन्य समुदायको प्रतिनिधित्व छ ।

विराटनगरकी इन्दु कार्की, उर्लाबारीकी लक्ष्मी भण्डारी, पथरीकी यमुना बिष्ट, बेलबारीका ढाकादेवी पराजुली, रंगेलीकी केशवकुमारी खराल, रतुवामाईकी दयन्तदेवी चुडाल र लेटाङका कृष्णकुमारी पोखरेल ब्राह्मण–क्षत्री समुदायबाट उपप्रमुखमा निर्वाचित भएका हुन्। यस्तै सुनवर्सीकी मञ्जुकुमारी राई, सुन्दर हरैचाकी धनमाया तामाङ, मिक्लाजुङकी सरला राई, केराबारीकी शान्तिमाया लिम्बू र कानेपोखरीकी राजमती इङ्नाम जनजाति हुन्।

जहदाकी शालो साह मधेसी र कटहरीकी मञ्जिता सरदार मधेसी दलित समुदायका हुन्। ग्रामथानका फूलकुमारी चौधरी र बूढीगंगाकी अमृता गच्छदार थारु तथा धनपालथानका नासिमा बानो मुस्लिम समुदायकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.