|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि विक्रेतालाई आग्रह गरेकी छन्।

काठमाडौँका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिन बेच्ने गरेको पाइएको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत पनि गराइन्। विक्रेताले उपभोक्ताको विश्वास जित्ने गरी विक्री वितरण गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधि विक्रेताको ध्यानाकर्षण गराइन्।

उनले उपभोक्ताको विश्वास जित्ने गरी व्यवसाय अघि बढाउन विक्रेतालाई अनुरोध गरिन्। त्यसका लागि महानगरपालिकाले औषधि व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताइन्।

उनले भनिन्, ‘हामीले अस्पतालका साथै फार्मेसीको पनि अनुगमन गरिरहेका छौं। धेरै फार्मेसीमा डेट एक्पाएर औषधि बेचिराख्नु भएको छ। धेरै फार्मेसीमा त्यसको लाइसेन्स लिने व्यक्ति एकजना, औषधि दिने मान्छे अर्को हुनुहुन्छ। औषधि दिनका लागि भनेर पढ्ने व्यक्ति एकजना, अनि अर्को मान्छेले दिँदा गलत औषधि दिइयो भने के हुन्छ? त्यसले पुर्‍याउने क्षतिको जिम्मेवारी कसले लिने ?’

उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण बनाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.