|

काठमाडौँ : केन्द्रीय बैंकले आज (आइतवार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको छ। सरकारले चालु आवका लागि मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

७ महिनामा आयात २ दशमलव ३, निर्यात ७ दशमलव १ र कुल वस्तु व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको छ।

यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव १ प्रतिशतले बढेको छ। त्यसैगरी, शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ।

कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ। ७ महिनाको सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३ दशमलव ७ प्रतिशतले बढेको छ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ प्रतिशतले बढेको छ। त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.