|

सर्लाही : हावाहुरीका साथै सुख्खा मौसम सुरु भएसँगै बढ्दो डढेलोका कारण सर्लाहीको वनजंगल आसपासका स्थानिय त्रासमा भएका छन्।

जिल्लाको चुरभेग तथा पूर्व–पश्चिम राजमार्ग वरिपरीका जंगलमा भीषण डढेलो लाग्ने गरेपछि नजिकका मानववस्ती त्रासमा रहेको छ।

केही दिनदेखि मुर्तिया र लालबन्दीको हिरापुर वन क्षेत्रमा आगलागी भइरहेको छ। आज बिहानबाट लालबन्दी साभेदारी वनको उत्तरी क्षेत्र र लालबन्दी ११ मा रहेको बाहुनीदेवी सामुदायिक वनमा पनि भीषण डढेलो लागेको छ।

बाहुनी सामुदायिक वनक्षेत्रमा लागेको डढेलोले नजिकै रहेको बाहुनी गाउँका सर्वसाधारण त्रसित भएर बसिरहेका स्थानीय सुवास घिसिङले बताए। उनले डढेलो नियन्त्रणका लागि वनका कर्मचारी र वन समुहका पदाधिकारी नआएको गुनासो गरे। डढेलो लागेको क्षेत्र नजिकका स्थानीय आफ्नै स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास भैरहेको स्थानीय  घिसिङले बताए ।

चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला सतासका ९० वर्षीय विमानसिंह लामाले घर नजिकैको चुरेका जंगलमा बर्सेनी लाग्ने डढेलोका कारण फागुनदेखि जेठसम्म त्रासमा बस्नुपर्ने गुनासो गरे। 

चुरे क्षेत्रका दर्जनौँ गाउँ डढेलोको जोखिममा छ। वस्तुभाउ चराउन गएका गोठालाहरुले चुरोट बिँडी खाएर राम्रोसँग ननिभाइ जथाभावी ठुटा फ्याक्नाले डढेलोको जोखिम बढ्ने स्थानीयहरु बताउँछन् ।
 
अघिल्ला वर्षमा झैँ यो वर्ष पनि डढेलो लाग्ने समय सुरु भए पनि डढेलो रोकथामका लागि कुनै निकायबाट पहल नभएको लालबन्दी–१२ पत्थकोटका स्थानिय हरी गुर्मछानले गुनासो गरे। 

उनले डढेलोका कारण जंगल नजिक र चुरे क्षेत्रमा बसोवास गर्ने नागरिकले जनधनको क्षति बेहोर्नु परेको अनुभव सुनाए।

सवडिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सुवास साहले जंगलमा डढेलो लाग्दा मानव बस्तीसमेत जोखिममा पर्ने भएकाले सचेत हुनुपर्ने बताए ।

सर्लाहीको उत्तरी चुरे क्षेत्रको पश्चिम बागमतीदेखि पूर्व बाँकेसम्म ३४ किलोमिटर लम्बाईमा फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.