|

पर्वत : नेपाल पत्रकार महासङ्घ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ।

गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०८० अर्पण गरिने भएको हो। मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासङ्घ कास्की सचिव माधव बरालले जानकारी दिए।

छनोट समितिले सिफारिस गरेको दुवै जनाको नाम महासङ्घ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो। उनीहरूलाई नगद एक लाख एक हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिनेछ।

यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन्। यस्तै महासङ्घ कास्कीको शुक्रवारकै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ।

पोखरा पत्रकारिता सम्मान, २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन्। पत्रकार पराजुलीलाई नगद ५० हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले बताइन्।

सोही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ। नेपाल पत्रकार महासङ्घ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती/राजु भण्डारी) लाई सम्मान पत्रले सम्मान गरिनेछ।

पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.